धरान : किरात राई सांस्कृतिक कलाकार सङ्घले प्रदेश सभाले न्वारान गरेको ‘कोशी’ प्रदेश नामलाई मृत्यु भएको घोषणा गर्दै राई जातिको संस्कार अनुसार शनिवार काजकिरिया गरेको छ ।

भानुचौकमा आयोजित सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहका बिच काजकिरिया गरेको हो । मञ्चको अगाडि भुईँमा राई विजुवाले मुन्दुम फलाक्दै मृत्यु संस्कारमा वर्खि गर्ने विधि पुर्‍याएको हो ।

मृत्यु संस्कार अनुसार बिजुवाले मुन्दुम फलाक्दै मृत्यु भैसकेको ‘कोशी नामकरण’को आत्मालाई तिरले हानेर स्याहा मार्दै मृत्युलोकमा जाने बाटो लगाएका हुन् ।

सङ्घले साङ्केतिक सांस्कृतिक विद्रोहको पहिलो चरणमा कोशी नामको काजकिरिया सार्वजनिक रूपमा प्रदर्शन गरेको हो । यसअघि सम्मेलनका सहभागीहरू किरात पहिचान सहितको पुनः नामकरणका नाराहरू लेखिएको प्लेकार्ड बोकेर र्‍यालीमा सहभागी भएका थिए ।

उनीहरूले प्रतिकात्मक रूपमा टाउकामा कालो कात्रो बाँधेका थिए । धरान-१० स्थित किरात राई यायोक्खा कार्यालयबाट सुरु भएको र्‍याली भानुचोकमा आएर सभामा परिणत भएको हो ।

प्रमुख अतिथि यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले ढोल झ्याम्टा बजाएर सम्मेलनको उद्घाटन गर्दै जनभावना विपरीत भएको कोशी नाम खारेज गरी किरात पहिचानको आधारमा पुन नामकरण नगरे प्रदेशमा द्वन्द्व बढ्ने बताए ।

उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रले प्रदेश नामकरणमा गरेको गल्ती सच्याएर आन्दोलनमा होमिएको, नेपाली काँग्रेसले पनि आत्मालोचना गर्दे प्रदेश नामकरणले द्वन्द्व निम्ताएको हुँदा पुन:नामकरण गर्नु पर्नेमा पुन बिचार हुनुपर्ने विज्ञप्ति निकालेर सहयोग गरेको बताए ।

कलाकार सङ्घ एवं यायोक्खाका नेतृत्वहरू जनक राई, सञ्जय राई, डिवी राई सिक्किम, सङ्घका केन्द्रीय उपाध्यक्ष शालिक शतासक लगायतले कोशी नामकरण पुन बिचार नभए जीवन आहुती दिन पनि पछि नहट्ने उद्घोष गरे ।

किरात कलाकार सङ्घ संस्थापक अध्यक्ष जीतेन राई, यायोक्खा पूर्व केन्द्रीय अध्यक्ष तिलक राई, सङ्घकी पूर्व अध्यक्ष गायिका पार्वती राई, संस्कृतिविद् अभियन्ता तीर्थ मुकारङ, रोम राई, अशोक राई, जानुका राई र यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई सभामा अतिथि थिए ।

समारोहमा किराँत संस्कृतिलाई गीत सङ्गीत, कला मार्फत उजागर आएका कलाकारहरूलाई सम्मानित एवं पुरस्कृत गरिएको छ । सिक्किमका डिके राईलाई किरात सांस्कृतिक सम्मान-२०६७ प्रदान गरिएको छ ।

कृषि विज्ञ मदन राईको अक्षयकोषबाट प्रदान गरिने किरात राई प्रतिभा पुरस्कार २०६७ सञ्जोश राई, मणिकुमार राईको हर्कजङ छलिशोभा कला पुरस्कार २०६८ शिव सङ्गम राईलाई प्रदान गरिएको छ ।

दाता तेज बहादुर र तिला राईबाट स्थापित तेज-लीला किरात सङ्गीत पुरस्कार २०७१ कला राईलाई प्रदान गरिएको छ । समाजसेवी युवराज राईबाट स्थापित नरमाया सविरमान राई भिडियो निर्देशक पुरस्कार २०७२ केशव राईलाई प्रदान गरिएको छ ।

प्रदेशको प्रदेश सभा बजेट अधिवेशनकै मुखमा पुनः नामकरणको आन्दोलनलाई सशक्त बनाउन सांस्कृतिक कलाकारहरूको राष्ट्रिय सम्मेलन सांस्कृतिक विद्रोहको रूपमा धरानमा आयोजना  गरिएको  हो ।

उद्घाटन समारोह कलाकार सङ्घ केन्द्रीय अध्यक्ष रामकर राईको सभापतित्वमा भएको थियो । सम्मेलन जेठ १५ गते सम्म चल्नेछ । भोलि १४ गते प्रदेश कार्यालय विराटनगरमा कोशी प्रदेश विरुद्ध जनप्रदर्शन र जेठ १५ गते भाषा संस्कृतिका ५ वटा कार्यपत्रमा छलफल गरी सम्मेलन सकिने बताइएको छ ।

kirat-kalakar-bhanuchok