धरान : परिवर्तनका लागि सामाजिक अभियानको साधारण सभाले विष्णु बराललाई ३ वर्षको कार्यकालका लागि पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
उक्त साधारण सभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल र सदस्यहरूमा विदुर थापा, प्रशान्त अग्रवाल, हेमचन्द्र ढकाल, जेनिश शाक्य र निशान नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
विधान अनुरूप बाँकी २ सदस्य अध्यक्षले मनोनीत गर्नेछन् भने सल्लाहकारहरूमा मोहन श्रेष्ठ, वासुदेव बराल र डा. प्रशान्त शाह रहेका छन् । उक्त सभामा कोषाध्यक्ष वर्षा अग्रवालले आर्थिक प्रतिवेदन एवम् सचिव विदुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७८ साल भाद्र ७ गते स्थापना भएको यस संस्थाले पाक्षिक रूपमा सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । डा. प्रशान्त शाहद्वारा स्वास्थ्य परीक्षण गरिने उक्त कार्यक्रम धरानका विभिन्न वडाहरू, वराहक्षेत्र, इनरुवा र झापामा समेत आयोजना भएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “विशेष गरी मुटु, रक्तचाप र मधुमेह सम्बन्धी स्वास्थ्य जा“च गरिने यो क्लिनिक ज्येष्ठ बुवा आमाहरूका लागि निकै नै प्रभावकारी रहेको छ” बरालले बताए । उक्त निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औँ संस्करण सम्पन्न भइसकेको छ ।
सो साधारण सभाबाट सामाजिक स्वास्थ्य क्लिनिकमा बिरामीहरूलाई फलोअप गर्न सजिलो होस् भन्ने हेतुले मोबाइल एप्स तयारीका लागि सदस्य निशान नेपाललाई जिम्मेवारी समेत तोकिएको छ ।
अभियानले विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरू छनौट गरी “घरको स्कुल” कार्यक्रम मार्फत निःशुल्क पढाइरहेको छ । यस कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन त्रिभुवन बराल र राजु फुयाँल सदस्य रहने गरी उपाध्यक्ष भोजराज श्रेष्ठको संयोजकत्व एक समिति समेत तयार गरेको छ ।
अभियानले स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रमहरू सँगसँगै विभिन्न प्रकारका प्रशिक्षण, चित्रकला कार्यशाला र पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण समेत गरेको थियो ।