विराटनगर : विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ ।

प्राधिकरणका विराटनगर प्रमुखसहितको प्राधिकरणको टोलीले आज महानगरका मेयर नागेश कोइरालालाई भेटेर एक महिनाभित्र व्यवसाय, बहाललगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको छ ।

राजस्व महाशाखा प्रमुख सरोज गौतम, वातावरण तथा सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेललाई साथैमा राखेर मेयर कोइरालाले प्राधिकरणको प्रतिबद्धता मागेका थिए ।

मेयर कोइरालासितको भेटमा प्राधिकरणको टोलीले एक महिनाको समय मागेको थियो । एक महिनाभित्र पनि नक्सा पास नगर्ने र महानगरलाई तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुको साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लाने सडकसमेत बन्द गरिदिने कोइरालाले चेतावनी दिए ।

महानगरवासीले तिरेको करबाट बनाएको सडकमा टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भार भएका मालवाहक सवारी महानगरको सडकबाट प्रवेश गर्ने गरेको मेयर कोइरालाले बताए।

मेयर कोइरालाले प्राधिकरणले सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवा लिएबापत यात्रुसित कर लिने तर महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याई छाड्ने प्रतिबद्धता जनाए ।

BRT airport chalfal