धरान : नेपाली काँग्रेसले धरानलाई ग्रीन एण्ड क्लिन सिटी बनाउन बिपी कोइरालाको ४१ औँ स्मृति दिवसको दिन शनिवार देखी घर घरमा कागती र कफीको बिरुवा वितरण गर्दै सरसफाइ अभियान सुरु गरेको छ ।

छाता चौक पुराना अस्पताल अगाडिबाट हातमा मेडिकल पन्जा लगाएर फोहोर टिप्दै धरान वडा १ बाट काँग्रेस कार्यकर्ताहरूले नगरवासीमा धरान क्लिन राख्न सन्देश दिने अभियान सुरु गरेका हुन् । 

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री प्रदीप सुनुवारले कार्यकर्ताहरूले कागती र कफिका बिरुवा हस्तान्तरण गरे ।

सहभागीहरूले उक्त बिरुवाहरू वडा १ को घर घरमा रोप्नका लागि घरबेटीको हात हातमा वितरण गर्दै हिँडेका थिए ।

अभियान काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले आयोजना गरेको हो । मन्त्री सुनुवारले बिपीको स्मृतिमा धरानमा सुरु गरिएको ग्रीन एण्ड क्लिन धरान अभियान सबै सहरका लागि अनुकरणीय भएको बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले आजबाट सुरु भएको अभियान धरानका २० वटै वडाको घर घरमा पुगेर मात्र सम्पन्न हुने बताए । उनका अनुसार अभियानका क्रममा २० हजार बढी वितरण गरिने कार्यक्रम छ ।

कार्यक्रम संयोजक काँग्रेस क्षेत्रीय सदस्य अञ्जना राईका अनुसार अभियानका लागि आवश्यक फलफूल तथा कफीको बिरुवा कोशी प्रदेश सरकारको कृषि तथा भूमिसुधार विभागबाट प्राप्त भएको हो ।

स्मृति दिवसकै अवसरमा आज बिहान धरान-१३ सर्दु खोला बिपी स्मृति पार्क स्थित बिपी कोइरालाको पूर्ण कदको सालिकमा मन्त्री प्रदीप सुनुवार सहित काँग्रेस कार्यकर्ताहरूले माल्यार्पण गरेका थिए ।

उक्त अवसरमा जलाधार क्षेत्रमा कागती र कफिका हजार बढी बिरुवा वृक्ष रोपण गरिएको काँग्रेस नगर सभापति श्याम पोखरेलले बताए ।