इटहरी : कोशी प्रदेशमा नेपाली काँग्रेस नेतृत्वकै सरकार कायम रहने मुख्यमन्त्री उद्धव थापाले बताएका छन् । नेकपा एमालेले सरकार विरुद्ध दायर गरेको रिटमा सरकारकै पक्षमा फैसला आउने उनले बताए । 

काँग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै उनले जनताको हितमा काम गर्ने धारणा राखे । सुनसरीको इनरुवामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले जनतालाई अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।

सरकारको अस्तित्वको बारेमा कुरा आइरहेको बेला उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन भएको प्रष्ट पारे । अदालतको परमादेशले सरकारलाई काम गर्ने रोक लगाएको थापाको भनाइ छ। जसको कारण जनतामा पुर्‍याउनुपर्ने विकासको काम रोकिएको बताए । 

नामकरणको विषयमा बोल्दै थापाले बहुमत बाट कोशी प्रदेश नाम राखिएको प्रष्ट पारे । सहमतिको अन्तिम प्रयासमा कोशी नाममा सहमति भएको बताएका मुख्यमन्त्री थापाले पहिचानवादीहरू लाई वार्तामा बोलाएर चित्त बुझाउने बताए ।

कोशी प्रदेशमा मुख्यमन्त्री चयनमा सभामुख बाबुराम गौतमले समर्थन गरेपछि सरकार विवादमा तानिएको हो । विपक्षी एमालेले मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख परशुराम खापुङ विरुद्ध रिट दायर गरेको छ ।