इटहरी : धरान-तरहरा सडक खण्डको सेउती पुलमा १२ दिन अघि लुटपाटको घट्नामा मृत्यु भएका रोहित चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर-५ का २८ वर्षिय चौधरीको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ पर्ने एक जना धरान-१० का ३४ वर्षीय अनसन तामाङ र लेटाङ-१ का ३५ वर्षीय दीपक तिम्सिना (पर्वत) छन् ।

पक्राउ परेका उनीहरूको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागेजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान,  खुकुरी २ थान, मोवायल ५ थान, औँठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद भएको छ ।

गएको साउन ५ गते प्रेमिका सँग घुमेर फर्कँदै गर्दा धरान-तरहरा बिचको जङ्गलमा लुटपाट र हत्याको घट्नामा संलग्न दुई जना लाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज सार्वजनिक गरेको हो ।

लुटपाट गर्न खोज्दा चौधरीले होहल्ला गर्दै प्रतिकार गरेपछि गोली र खुकुरी प्रहार गरिएको पक्राउ परेका अभियुक्तले बताएका छन् । कोखामा गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याई उपचार गर्दा गर्दै मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने ‘मुख्य योजनाकार पर्वत (दीपक तिम्सिना)ले गोली प्रहार गरेको हो ।’ खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटेको उनले बताए ।

डिआइजी बास्तोलाका अनुसार सामान लिएर भाग्न लागेका लुटेरालाई चौधरीले प्रतिकार गर्न खोजेपछि गोली र खुकुरी चलाएको अभियुक्तहरूले प्रारम्भिक बयानमा बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ-"पक्राउ परेका अभियुक्तहरू श्रावण ५ गते साँझ धरानबाट इटहरी जाँदै गरेको को ३२ प १७९६ नम्बरको मोटरसाइकल रोकेर मोटरसाइकलमा सवार चालक विराटनगर-५ कोचाखालका २८ वर्षीय रोहित चौधरी र विराटनगर-३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए ।'

धरानको पुतली लाइनबाट पक्राउ परेका थिए दुवै अभियुक्त

घटनाबारे जानकारी पाए लगत्तै फरार व्यक्तिहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न २ जनालाई श्रावण १६ गते धरानकै पुतली लाइनबाट पक्राउ गरिएको जनाइएको छ ।

रोहित र उनकी प्रेमिका सुमना सेउती पुल नजिकैको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गल भागेका थिए । प्रहरीले सबै कोणबाट सूक्ष्म अनुसन्धान गरेको र हत्या गरिनुको कारण लुटपाट नै रहेको बताइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरिएको हो । हालसम्म दुई जना मात्र पक्राउ परेको र बाकी एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानको लागी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी सुनसरी र इलाका प्रहरी इटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह सहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको बताइएको छ ।

पक्राउ परेकाहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको डिआइजी  बास्तोलाले जानकारी दिए ।  पक्राउ परेका तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागुऔषध दुर्व्यसनी रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा उक्त घटना बाहेक असार ८ गते धरान-१७ खैरेनी जङ्गलमा १ जना महिला माथि भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका श्रीमान् श्रीमती माथि सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक व्यक्तिलाई समेत श्रृखंलाबद्ध रूपमा भएको लुटपाटमा उनीहरूकै संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको र पक्राउ व्यक्तिहरूको १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

golikanda-2 1