इटहरी : दुई वर्ष देखी पक्षाघातले थलिएका जोगीन्दर शर्मा हिँडडुल गर्न सक्दैनन् । जबरजस्ती बाहिर निस्किए पनि खुट्टा चाल्न खोज्दा बजारिन्छन् । ७० वर्षीय शर्मा न ओच्छ्यानमा आनन्दले बस्न सक्छन् न बाहिरै । बिद्युत् पहुँच बाहिर रहेका शर्माले उखरमाउलो गर्मीमा पनि पङ्खा चलाएर बस्न पाएका छैनन् ।

इटहरी-१२ खनार चोक पूर्वपट्टिको बस्तीका स्थानीय बत्ती मुनीको अँध्यारोको अवस्थामा छन् । वृद्ध र बालबालिका चैन सँग सुत्न पाएका छैनन् । बत्ती अभावमा होमवर्क गर्न नपाएर बालबालिका विद्यालय जान छाडेका छन् । डेङ्गु महामारीका बिच छाप्रो भित्र सुत्न नसकेपछि नहरको किनारमा रात कटाउँछन् स्थानीय ।

दुई महिना देखी विद्युत् उपयोग गर्न नपाएका स्थानीय उखरमाउलो गर्मीमा छट्पटीएका मात्र छैनन् रोजीरोटीकै समस्यामा परेका छन् । फलामका औजार बनाएर विक्री गर्दै आएका वीरबहादुर विश्वकर्मा अहिले बेरोजगार भएका छन् । घरमा लाइन नभएपछि उनको आम्दानीको श्रोत गुमेको छ । सोही पेशाले १० जनाको परिवार पाल्दै आएका उनी दुई महिनादेखि तनावमा छन् ।

विश्वकर्माकै छिमेकी लक्ष्मण शर्मा काठ मिस्त्री हुन् । घर तथा अफिसमा उपयोग हुने फर्निचर निर्माण गर्ने गर्छन् उनी । घरैमा सानो उद्योग चलाएका शर्मा बिजुली नभएपछि बेरोजगार भएका छन् । उनको आम्दानी मात्र गुमेको छैन घर परिवारको निन्द्रा समेत हराएको छ । दुई महिना देखी विद्युतको पहुँच बाहिर रहेका उनीहरू सडक बत्तीको उज्यालोमा खाना खान्छन् । विश्वकर्मा र शर्माका जस्ता ८ परिवारका सय जनाको संयुक्त परिवारले एकसाथ यही तनाव भोगिरहेका छन् ।

खनारका हेमन्त कट्टेलको जग्गा खाली गराउन जिल्ला अदालत सुनसरीको आदेश अनुसार बिद्युत् काटिएको हो । कट्टेलको जग्गाको सिमानामा बसेका स्थानीयलाई हटाउन अदालतले आदेश दिएको थियो । सोही अनुसार गत जेठ ३ गते घर टहरा भत्काइयो ।

जग्गा खाली गराएपछि त्यसको छेवैमा उनीहरू नहर किनारमा छाप्रो हालेर बसे । विद्युत् प्रसारण रोकिएको भए पनि पुरानो मिटर बक्स साथै राखेका थिए । विद्युत् प्राधिकरणको कार्यालय इटहरीमा उनीहरूले धेरै पटक विद्युत् जडानको लागि अनुरोध गरे । तर खनारका स्थानीय तथा विद्युत् प्राधिकरण कर्मचारी दिपेन दर्जीले १ महिना पछि मिटर बक्स समेत जफत गरेको उनीहरूको गुनासो छ । नयाँ बक्स जडान गर्ने आश्वासन दिएका दर्जीले अहिले छिमेकीको घरबाट बत्ती ल्याए सडक बत्ती समेत काटिदिने धम्की दिने गरेका छन् ।

कट्टेलले आफ्नो जग्गा दाबी गरेपछि स्थानीयले मोरङ सुनसरी सिँचाई आयोजनालाई गुहार मागे । आयोजनाले नहरको बिच भागबाट १३५ फिट पर्ने गरी जग्गा क्लियर गरिसकेको छ । तथापि कट्टेलले उनीहरूको टहरामा बिद्युत् नजोड्न दबाब दिँदै आएका छन् । उनले स्थानीय नेता, वडाध्यक्ष देखी विद्युत् प्राधिकरणका कर्मचारीलाई समेत सुकुम्वासीको विरुद्धमा परिचालन गरेका छन् । उनकै कारण विस्थापित हुने खतरामा छन् स्थानीय सुकुम्वासी ।

वडाध्यक्ष भुवनराज पोखरेल अदालतले डर देखाएको बताउँछन् । कट्टेलले बारम्बार अदालतमा मुद्दा हालेको कारण समस्या भएको बनिबनाउ उत्तर दिन्छन् । अदालतले घर भत्काउन दिएको आदेश पालना भइसकेको छ । सिँचाइले औपचारिक रूपमा आफ्नो जग्गा हो भन्ने पत्र नदिएको कारण विद्युत् जडानमा सहजीकरण गर्न नसकिएको उनको गैर जिम्मेवार तर्क छ । भूमिहीन सुकुम्वासीको संरक्षण गर्ने जिम्मा पाएको स्थानीय सरकारका जनप्रतिनिधिकै लाचार अभिव्यक्तिले स्थानीय अभिभावक विहीन भएका छन् ।

सर्वेश्वर शिव मन्दिरबाट पूर्व तर्फ जाने बाटोमा पीडित स्थानीयले घर टहरा बनाएका छन् । आफूहरूलाई विस्थापित गराएर कट्टेलले आफ्नो जग्गामा नयाँ बाटो कायम गर्न खोजेको स्थानीय बताउँछन् । हरेक प्रयत्न गर्दा पनि स्थानीयलाई हटाउन नसकेपछि उनले विद्युत् प्राधिकरणका कर्मचारीको सहयोग लिएको बुझिएको छ ।

कट्टेलले भने अदालतले स्टेअर्डर दिएको कारण समस्या भएको बनिबनाउ जवाफ दिएका छन् । अदालतमा विचाराधीन रहेको मुद्दामा केही आफूले केही गर्न नसक्ने उनको भनाई छ । सिँचाइको जग्गा कहाँ पर्छ पर्दैन भन्ने थाहा नभएको बताउँदै उनले कसैलाई लाइन काट्न दबाब नदिएको बताए ।

विद्युत् प्राधिकरण इटहरी शाखाका निमित्त प्रमुख विकाश खड्काले निजी जग्गामा बसेको कारण अदालतबाट विद्युत् प्रसारण काट्न आदेश आएकाले सोही अनुसार भएको बताउँछन् । स्थानीयले अर्कै जग्गा प्रयोग गरेको अवस्थामा अदालतको आदेश प्रभाव नहुने गरी मिटर बक्स पुनः प्रदान गर्न सकिने उनले बताए । पुरानो मिटरको बाकी बक्यौता बुझाएपछि थप प्रक्रिया अगाडी बढाउने उनले जानकारी दिएका छन् ।

khanar-bijuli-2