काठमाडौँ : जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएको हो ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित काँग्रेस सांसद शर्माले गत साउन १० गते संसद् बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।

सुन तस्करीमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए ।

सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपराह्न करिब ३ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौँको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

मन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । आज प्रतिनिधि सभाको बैठकमा पनि यो विषय उठ्यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसद शर्माको पक्राउ प्रति आपत्ति जनायो ।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले सुन तस्करीको विषयमा पटक पटक आवाज उठाइरहेका सांसद शर्मालाई सर्टिफिकेटको बहाना झिकेर कानुन विपरीत पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् ।

यता सीआइवीले डा.शर्माको आइएससी उत्तीर्णको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको दाबी गरेको छ ।

सांसद शर्मालाई प्रहरीले आज म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर थुनामा नराखी अनुसन्धान गर्न भन्दै अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।