इटहरी : नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनसन बस्ने नेपाली काँग्रेसका सांसद सुनिल शर्माले चेतावनी दिएका छन् ।  सुन तस्करी प्रकरणमा आरोप लगाउँदा आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माफी माग्नुपर्ने र उपप्रधानमन्त्री तथा श्रेष्ठले राजीनामा दिनुपर्ने उनको भनाइ छ । सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्ने क्रममा उनले प्रधानमन्त्रीले आतङ्ककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे ।
‘अहिलेका गृहमन्त्रीले विना सर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन क्लियर गर्छु ।,’ उनले भने, ‘प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन वा राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासद्लाई बिना पक्राउ पुर्जी अरेस्ट गरिन्छ भने जनताको के अवस्था हुन्छ ?’
शर्मालाई गत बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै भोलीपल्ट काठमाडौँ जिल्ला अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको हो ।