इटहरी : उपसभामुख सृजना दनवारले अध्यक्षता गरेर कोसी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुख बाबुराम गौतमको राजीनामा, मुख्यमन्त्री नियुक्ति लगायत अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशबारे छलफल हुने कार्यसूची तय भएको हो ।

संसद् बैठक सुरु भएसँगै ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने भएका छन् । उपसभामुख दनवारले संसद् सञ्चालन गर्ने भएपछि गठबन्धनको बहुमतको आधारमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री थापाले ३ गतेनै विश्वासको मत लिने समय निर्धारण गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका हुन् ।

थापाले साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भदौ १४ गते भित्र विश्वासको मत लिनुपर्ने सैंवैधानीक प्रावधान छ । प्रदेशसभाको पछिल्लो बैठक असार १५ गते बसेको थियो । सोही बैठकमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको नपाएपछि पदमुक्त भएका थिए ।