धरान : डेङ्गु महामारीका बिच धरानमा समयमा औषधी उपचार नपाएर बालबालिका समेत मृत्युको मुखमा पुगेको अवस्थामा नेपाली काँग्रेस कोसी प्रदेश समितिले डेङ्गु प्रभावितहरूका लागि निःशुल्क वितरण गर्न सिटामोल औषधी र जीवन जल उपलब्ध गराएको छ ।

धरानको स्थिति जटिल देखिएपछि तत्काल आपत्कालीन अवस्थामा वितरण गर्न उक्त औषधी प्रदेश समितिले उपलब्ध गराएको काँग्रेस धरान नगर समिति सभापति श्याम पोखरेलले बताए ।

आज बुधवार बिहान धरान-२ स्थित काँग्रेस पार्टी कार्यालयमा कोसी प्रदेश महामन्त्री उमेश थापाले सिटामोल १३ हजार ट्याबलेट र जीवन जल १ हजार प्याकेट तत्काल वितरणका लागि हस्तान्तरण गरेका छन् ।

उक्त सामाग्री काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति पोखरेल सहित पदाधिकारीहरूले बुझिलिएका हुन । सभापति तामाङले तत्कालका लागि पार्टीलाई प्राप्त सिटामोल र जीवन जल आधिकारिक निकायबाट वितरण गरिने बताए ।