इटहरी : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको पद धरापमा पर्ने भएको छ । सभामुखले राजीनामा दिएर बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्त भएका थापा विश्वासको मत लिने समयमा सङ्कटमा परेका हुन् । 

संसदीय अङ्कगणितमा थापा बहुमतमा भए पनि सभा सञ्चालनमा समस्या देखिने भएपछि निवर्तमान बन्ने खतरामा परेका छन् । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ३ गते विश्वासको मत दिने समय माग गरेका थिए । उपसभामुख सृजना दनुवारले ४ गतेको लागि समय निर्धारण गरिन् । सोही अनुसार थापाले ४ गते विश्वासको मत लिँदै छन् । आफैले समय निर्धारण गरेकी उपसभामुखले सभा सञ्चालन नगरे थापा अल्पमतमा पर्ने पक्का छ । 

थापाले विश्वासमा ल्याउन सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिस्कार गर्ने निर्णय गरिसकेको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार ४ गतेको संसद् बैठकमा राप्रपाका सांसद अनुपस्थित हुने भएका छन् ।

नेकपा एमालेले पनि ज्येष्ठ सदस्यहरूलाई संसदमा अनुपस्थित गराउने तयारी गरेको छ । यसले गर्दा उपसभामुखले सभा सञ्चालन नगर्ने अवस्था देखिएको छ । एमालेको तर्फबाट उपसभामुख भएकी उनले सभा सञ्चालन नगरे संसदमा उपस्थित ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । 

सांसदका ज्येष्ठ सदस्य रहेका नेपाली काँग्रेसका गयानन्द मण्डल यसअघि नै राज्यमन्त्री भइसकेका छन् । एमालेका लगातार छ जना ज्येष्ठ सदस्य छन् । उनीहरूले ४ गते संसदमा उपस्थित हुन नसक्ने प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।

एमालेका रोहित बहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन् । 

राप्रपाका ज्येष्ठ सदस्यहरू अम्बरबहादुर विष्ट र गोपाल प्रसाद विश्वकर्मा अनुपस्थित हुने तय भइसकेको छ । एमाले ६ सांसद अनुपस्थित हुने र राप्रपाले संसद् बहिस्कार गर्ने भएपछि नेपाली काँग्रेसका सांसद ६४ वर्षीय अमृत अर्यालले सभा सञ्चालन गर्नुपर्ने हुन्छ । अर्याल ज्येष्ठताको हिसाबमा तेह्रौँ नम्बरमा पर्छन् ।

अर्यालले सभा सञ्चालन गरेपछि मुख्यमन्त्री थापा अल्पमतमा पर्ने प्रष्ट छ । संसदमा पक्ष वा विपक्षमा बराबर मत भएको अवस्थामा सभाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ । तर थापाको हकमा बराबर मत हुने सम्भावना देखिँदैन । 

संवैधानिक रूपमा १३ गतेसम्म विश्वासको मत दिनुपर्ने प्रावधान छ । ४ गते उपसभामुख अनुपस्थित भएमा काँग्रेसले पनि संसद् बैठक स्थगित गर्ने सम्भावना छ । हालसम्म उपसभामुखको कुनै पनि पत्र प्रदेशसभा सचिवालयमा दर्ता नभएकाले सौहार्द पूर्ण हिसाबमा सभा सञ्चालन हुने काँग्रेस प्रमुख सचेतक भूपेन्द्र राईको विश्वास छ । ४ गते मुख्यमन्त्रीले विश्वासको मत नलिए १३ गते भित्र नयाँ मिति तय गर्न सक्नेछन् । 

नेपाली काँग्रेस नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको गठबन्धन सँग ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसद छन् । गठबन्धनकै सदस्यले सभा सञ्चालन गर्नुपर्ने बाध्यता आइपरे मुख्यमन्त्री थापा अल्पमतमा पर्नेछन् ।