इटहरी : नागरिक समाज इटहरीले कर वृद्धिको विरुद्धमा कार्यक्रम सुरु गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीले चरणबद्ध विरोध गर्ने जनाएको हो ।

बारम्बार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा बेवास्ता भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बालिका भट्टराईले बताइन् । भदौ १७ गते आइतबार देखी कर घट्ने बाचा आए पनि अहिलेसम्म कुनै छाटकाट नदेखिएको उनले जानकारी दिइन ।

आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको र सर्वसाधारणले हातमुख जोर्न समस्या भइरहेको समयमा कर वृद्धि हुन अन्यायपूर्ण भएको समाजले जनाएको छ । उपमहानगरपालिकाले हालसम्म नगर विकासको योजना समेत बनाउन नसकेको अवस्थामा कर तिर्न खर्च जग्गा बेच्ने अवस्था सृजना गराएको बताइएको छ ।

नागरिक समाजद्वारा जारी विज्ञप्तिमा खर्चको प्राथमिकीकरण निर्धारण नगरी भएकै विकास बजेट आधा पनि खर्च गर्न नसक्ने सरकारलाई कर बढाउने नैतिक अधिकार नभएको उल्लेख छ । नागरिक समाजले बढेको करका विरुद्ध भाद्र २० गते बुधवार जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने भएको छ ।

त्यस्तै २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी शेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते "नो ट्याक्स" घोषणा गरी बृहत् नागरिक भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।