धरान : महिलाहरूको महान् चाड तीजको अघिल्लो दिन आज, दर खाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व मनाइन्छ। तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्त्व भएका खानेकुरा खाने चलन रहेको छ।
परापूर्व कालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाई व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन्। साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवती, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्।