धरान : सर्दु जलाधार उठान क्षेत्र भित्र नपरेका जग्गा फुकुवा तथा सिमाङ्कन गर्न माग गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई पीडितहरूले आज आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

साबिक बाँझगरा ९ घोपा ७ मध्ये बाँझगरा ९ (क) घोपा ७ (घ) र (ङ) बाहेकका क्षेत्रलाई सर्दु जलाधार संरक्षण क्षेत्र घोषणा गरेकोमा त्यस बाहिरका जग्गा बाँझगरा ९(क) र घोपा ७ (घ) र (ङ) जग्गाधनीका जग्गा २०७८ पौष महिना देखि रजिष्ट्रेशन पास रोक्का गरिएकाले समस्यामा परेको उल्लेख गर्दै उठान क्षेत्र भित्र नपरेका जग्गा फुकुवा तथा सिमाङ्कन गरिदिन ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बाँझगरा ९ (क) घोपा ७ (घ) र (ङ) जग्गा रोक्का फुकुवा तथा सिमाङ्कन पहल समितिका संयोजक हरिबहादुर कार्की र टिकाराम राई लगायतका समूहले मेयर साम्पाङलाई बुझाएको हो ।

ज्ञापनपत्रमा तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा २०३३ सालमा छोटी मोरङको बन जङ्गल र पानी ढलो क्षेत्रलाई आधार मानी साबिक बाँझगरा ९  घोपा ७ मध्ये बाँझगरा ९ क, घोपा ७ (घ) र (ङ) बाहेकका क्षेत्रलाई सर्दु जलाधार संरक्षण क्षेत्र घोषणा गरेको उल्लेख छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने जग्गाधनीहरू २०९ घरपरिवारलाई क्षतिपूर्ति बापत मोरङको बयरवनमा उपलब्ध गराई सकिएको अभिलेखबाट देखिएको तर बाँझगरा ९ (क) र  घोपा ७ (घ) र (ङ) जग्गाधनीका जग्गा २०७८ पौष महिना देखि जग्गा रजिष्ट्रेशन पास रोक्का गरिएकोले समस्या परेको उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मेयर हर्क साम्पाङले भने ‘तपाईँहरू मुद्दामा मामिलामा पनि गईसक्नु भएको कुरा मैले सुने र यो सर्वोच्च न्यायालयले पनि विचाराधीन अवस्थामा राखेको रहेछ ।’ उनले आफूलाई कानुनले दिएको अधिकार के कति प्रयोग गर्न सकिन्छ त्यसलाई सम्पूर्ण सरोकारवाला, राजनीतिक दल, प्राविधिक पक्षसँग बसेर सरसल्लाह गर्ने प्रतिबद्धता जनाए ।

मेयर साम्पाङले पीडितहरूको समस्या समाधानतिर लाग्ने आश्वासन दिँदै यदि लिखित पत्र वा मालपोत कार्यालयले स्थानीय सरकारको पूर्ण अधिकार छ भनी लिखित रूपमा अधिकार दिने हो भने आफू भोलि देखिनै फिता लिएर उक्त क्षेत्र नाप जाँच गर्न तयार रहेको बताए ।

Gyapan patra 1 harkagyapan patra 2 harka