धरान : नेपालको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा अघि बढेको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् ।

काठमाण्डौमा आइतबार आयोजित नेपाल आर्थिक पत्रकार सङ्घको १५औँ वार्षिकोत्सवमा उनले भने ‘विभिन्न कालखण्डमा देखापरेको समस्याहरू, कतिपय नीतिगत र प्राथमिकताका छुट्याउने काममा चुकेका कारणले हाम्रो अर्थतन्त्रमा समस्या आयो ।’

अहिलेको आर्थिक समस्या एकाएक सिर्जना नभएको बताउँदै अर्थमन्त्री डा.महतले समस्या निराकरणका लागि केही समय लाग्ने बताए । उनले भने ‘अहिले बाह्य सुचांकहरु राम्रो छ । रेमिट्यान्स बढेको छ । पर्यटक आगमन बढेको छ । यसले हाम्रो आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुग्छ ।’

मन्त्री डा.महतले घरजग्गा कारोबारमा बितेका समय बढी लगानी भयो । विभिन्न आर्थिक परिवेश दिगो नहुँदा मूल्य वृद्धि त्यही रूपमा बढेको बढेको बताउँदै कित्ताकाटका समस्या थिए, त्यो हटेपछि बिस्तारै घर जग्गा व्यवसाय पनि अघि बढेको बताए ।

उनले अहिले देखिएका सकारात्मक पक्षतर्फ मिडियाको ध्यानाकर्षण गराउँदै भने ‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ । यस विषयमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

अर्थमन्त्री महतले आर्थिक पत्रकारहरूमा व्यावसायिकताको विकास भएकोमा खुसी व्यक्त गर्दै व्यावसायिकता आउँदा दिनमा अझ विकसित हुने विश्वास रहेको बताए । अर्थमन्त्री महतले भने ‘सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै बिक्छ, त्यसैले नकारात्मक कुरा बढी आउँछ ।’

अर्थतन्त्रले विस्तारले सकारात्मक बाटो समातेको बताउँदै उनले यद्यपि प्राकृतिक विपत्ति लगायत अनेक खाले अप्ठ्यारा देशले व्यहोर्दै आएको बताए ।