इटहरी : सुनसरीको रामधुनी नगरपालिकाकी पूर्व उपप्रमुख सहित तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
पूर्व उपप्रमुख सविना कुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
रामधुनी नगरपालिकाको झुम्का चोकबाट रामधुनी मन्दिर जाने मूल सडक सिंघियादेखि लालपुर गाउँसम्म कालोपत्रे निर्माण कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । काम भएको भन्दा बढी नापी किताबमा देखाएर भुक्तानी गरेको अख्तियारेको ठहर छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सब इन्जिनियर हर्षलाल चौधरीको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।
काम भन्दा बढी परिमाण नापी किताबमा समावेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरेको र झुट्टा बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेका थिए । सो कार्यमा २ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
उपप्रमुख चौधरी र वडा नं ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, कार्यपालिका सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका कर्मचारी सुनिल कुमार चौधरीले निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइन्यूट गरेको अख्तियारले जनाएको छ ।
त्यस्तै जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर नानु कुमारी निरौला (बस्नेत) ले सरकारी सम्पत्तिमा गैरकानूनी हानि र बदनियतपुर्ण काम गरेको बताइएको छ । उनले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माण स्थलमा सम्पादन नभई ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाएको अख्तियारको ठहर छ ।
अख्तियारले २ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।