धरान : प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । सङ्घर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो ।
ओखलढुङ्गामा भोली मङ्सिर १९ गते मङ्गलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ ।
समितिद्वारा आज सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहरूप्रति हामी प्रस्ट छौँ कि उहाँहरूप्रति हाम्रो कुनै रोकछेक हुँदैन ।’ तर भवन उद्घाटनको बहानामा नेपाली काङ्ग्रेसका मुख्यमन्त्री केदार कार्की, संसदीय दलका नेता पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवारलाई ओखलढुङ्गामा अवरोध गरिने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्री केदार कार्की, उद्धव थापा, प्रदेश सांसद प्रदीप सुनुवार लगायतलाई कार्यक्रममा नजान र आयोजकले सहभागी नगराउन सङ्घर्ष समितिको तर्फबाट खबरदारी भइरहेको र यो विज्ञप्ति मार्फत पनि काङ्ग्रेस पार्टीलाई जानकारी दिन चाहन्छौँ ।’
समितिले विज्ञप्तिमा भनेको छ ‘हाम्रो पहिलो सर्त ‘कोशी’ नाम खारेजीलाई गम्भीर रूपमा कार्यान्वयन गर्नुको सट्टा सङ्घर्ष समितिलाई चिढ्याउने भ्रमणको प्रचारले स्थानीय जनता झनै आक्रोशित अवस्थामा रहेको जानकारी गराउँदै त्यहाँ नजान आग्रह गर्दछौँ ।’
आन्दोलन कुनै पनि राजनैतिक पार्टी, सङ्गठन र समुदायको विरोधमा नभई ‘कोशी’ प्रदेश नाम खारेजी नभएसम्म सशक्त बनाउन गरिएको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदका साथै राई, लिम्बु समुदाय र पहिचान पक्षधरलाई आपराधिक गाली गर्दै आतङ्ककारीको आरोप लगाउने तीन भाइ विरुद्ध जनता गाउँगाउँमा आक्रोशित छन् ।’
सार्वजनिक रूपमा आत्मा आलोचना नगरेसम्म तीन भाइ र ८२ प्रदेश सांसद विरुद्ध कालो झन्डा लगायतको विरोध प्रदर्शन हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा ‘नेपाली काङ्ग्रेसकै १४ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरेर ‘कोशी’ नाम बारे पुनर्विचार गर्नुपर्ने र आन्दोलनरत सङ्घर्ष समितिको मुद्दा सही भएकाले सम्बोधन गर्नुपर्ने विषय सार्वजनिक भएको अवगत नै छ ।’