धरान : नेकपा एमालेका नेता, स्थायी समिति सदस्य, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सरकार मुलुकमा स्थिरता कायम गर्न असफल रहेकोले कुनैपनि बेला आमचुनाव हुनसक्ने बताएका छन् ।

देशमा अस्थिरता पैदागरी गणतन्त्र लोकतन्त्र सङ्घीयतालाई धरापमा पुर्‍याउन खोज्ने तत्त्वहरू जातीय द्वन्द्व, धार्मिक विद्वेषका नाममा नयाँ रूपमा आएको बताउँदै उनले भने ‘यस्तो स्थितिले कुनै पनि बेला चुनाव हुनसक्छ ।’

नेता राईले अबको राष्ट्रिय शक्तिको रूपमा स्थापित हुन नेकपा एमालेले मिसन २०८४ को रूपमा देशव्यापी सङ्कल्प अभियानलाई अघि बढाएको बताउँदै भने ‘मिशन २०८४ हासिल गर्दै देशव्यापी बहुमत कायम गरी जनादेशमा जाँदा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ ।’ तब मात्र मुलुकले समृद्धिको यात्रा तय गर्ने उनले बताए ।

नेकपा एमाले धरान नगर कमिटीको भूकम्प पीडित सहयोग रकम हस्तान्तरणको अवसरमा मङ्गलवार पत्रकार भेटघाट बिच नेता राईले भने ‘सङ्घीयता गणतन्त्र र देशमा द्वन्द्व निम्त्याउने प्रयास भइरहेको बेला सरकार समस्या सुल्झाउने भन्दा बल्झाउन लागेको छ।’ 

मुलुकमा देखिएको विषम परिस्थितिप्रति जनतालाई सचेतना गराउन नेकपा एमालेले मध्यपहाडी लोकमार्ग सङ्कल्प अभियान सुरु गरेको उनले बताए । मुलुकमा सुशासन विकास र स्थायित्व गर्दै  गणतन्त्र सङ्घीयता रक्षा गर्न एमाले प्रतिबद्ध रहेको बताउँदै उनले बाहिरी शक्ति एमाले सिध्याउन लागि परिरहेको बेला एमाले सङ्घीयता बलियो बनाउन दृढपूर्वक अघि बढेको उनको भनाई थियो ।

स्थायी समिति सदस्य राईले भने ‘नेकपा एमाले बलियो भयो भने गलत नियत र स्वार्थ पूरा गर्न नसकिने भएकोले एक मतले मुलुकबाट एमाले सिध्याउन विभिन्न द्वन्द्व निम्त्याउँदै धार्मिक र जातीय कुरा उठाएर मुलुकमा अशान्ति मच्चाउने प्रयास भइरहेको छ ।’ यसमा लोकतन्त्र सङ्घीयता विरोधीहरू राजनैतिक अस्थिरता पैदा गराउन लागिपरेको उनको भनाई छ ।

एमालेको सङ्कल्प अभियानले कोशी प्रदेशमा मङ्सिर २६ गते घुर्मीमा बृहत् आमसभा र २८ गते तेह्रथुम वसन्तपुरमा जनसभा र पाँचथरको फिदिममा बृहत् आमसभा गरी यात्रा पुरा हुने बताए । नेता राईले भने ‘सङ्कल्प अभियानमा अवरोध गर्न विभिन्न बहानामा हुनसक्ने अवरोध पन्छाउँदै, परास्त गर्दै सम्पन्न हुने एमाले दृढ रहेको छ ।’ अभियानलाई अवरोधको प्रयास गर्न लागिएको जानकारी आएकाले अवरोधका कार्यक्रम नगर्न उनले आग्रह गरे ।

पत्रकारहरूको प्रश्नको जवाफ दिदैं नेता राईले प्रदेशको नामकरणको सवाल बाहिरबाट प्रदेश सभा भित्र उठ्नु पर्ने बताउँदै आफू मुख्यमन्त्री हुँदा सबैको आम सहमतिका लागि सहजिकरण गर्न खोजेको स्मरण गराए । बाहिरको दबाबले नामकरण नहुने बताउँदै उनले भने ‘नामकरण सरकारले गर्ने होइन प्रदेश सभाले गर्ने हो ।’

कोशी प्रदेश नामकरण गर्न एमाले मात्र बहुमत नभएको काँग्रेस, माओवादीले पनि मत हालेकाले बहुमतबाट नामकरण भएको बताउँदै भने ‘तर नामकरण एमालेले एक्लैले गरेका भन्ने भ्रम फैलाउनु गलत हो ।’

कोशी नामकरणमा नेकपा एमाले केन्द्रीय कमिटी र पार्टी अध्यक्ष केपी ओलीको केही साइनो सम्बन्ध नरहेको बताउँदै भने ‘तर प्रदेश सभामा एमाले भएकाले धारणा जोडिन आएको हो ।’ प्रदेश नामकरणको मुद्दा गहन संवेदनशीलताको विषयवस्तुलाई ओझेलमा पारेर  संविधान र विधि प्रक्रिया विपरीत जाने व्यवस्था नभएको बताउँदै नेता राईले भने ‘मेरो व्यक्तिगत कुराको कुनै अर्थ हुन्न ।’

उनले मुख्यमन्त्री हुँदा संविधान र विधि प्रक्रिया, व्यवस्थालाई टेकेर हिँड्नु पर्ने भएकाले सबै दलको सर्वसम्मतिबाट प्रदेश नामकरण गर्न छलफल संवाद सहकार्य गरेको बताए । उनले भने ‘मैले टाउको गनेर बहुमत पुर्‍याएर घोषणा गरी हाल्ने हतारो गरिन ।’

उनले भने कोशी प्रदेश नामकरण परिमार्जन गर्न कोशी प्रदेश सभा सदस्यहरू भित्र छलफल संवाद अन्तरक्रिया गरेर साझा बिन्दु, धारणा बनाएर गए मात्र सम्भावना रहने बताए । उनले भने ‘प्रदेश नामकरण परिमार्जन गर्न कोशी प्रदेशका दलहरू प्रक्रियामा गएर प्रदेश सभा भित्र विधि प्रक्रियाबाट साझा बिन्दुमा पुग्नसके सम्भव छ ।’

Sherdhan-rai-NCP-party