धरान  : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले वार्षिक साधारणसभा आह्वान गरेको छ ।

मङ्सिर १९ गते बसेको सञ्चालक समितिको २३५ औँ बैठकले आगामी पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले यसअघि सञ्चालक समितिबाट घोषित ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैङ्कले साधारण सभाको अजेण्डामा अन्य बैङ्क तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने (मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राखेको छ । सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने अजेण्डा समेत पारित हुने बताइएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको २०७९-८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित सो आर्थिक वर्षको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने लगायतका अजेण्डा समेत प्रस्तुत हुने बताइएको छ ।

साधारणसभा प्रयोजनका लागि बैङ्कले मङ्सिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज हुने समेत घोषणा गरेको छ । यसको अर्थ मितेरी डेभलपमेन्ट बैङ्कले घोषणा गरेको लाभांश पाउने गरी सेयरधनी बन्न चाहनेलाई मङ्सिर २७ गतेसम्म सो बैङ्कको सेयर खरिद गरिसक्नुपर्ने हुन्छ ।