धरान : इजरायल-हमास युद्धको कारण लगातार बमबारीबाट ध्वस्त भइरहेको गाजापट्टि पहिलेकै अवस्थामा फर्किन्छ फर्किन्न भन्न सकिने अवस्था नभएको संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटरेसले उल्लेख गरेका छन् ।

उनले अस्पतालहरूलाई युद्ध मैदान बनाइएकोले पुरै गाजापट्टिको स्वास्थ्य व्यवस्था धुजा धुजा भैसकेको छ । सर्वसाधारणसँग बाँच्नका लागि चाहिने अपरिहार्य सामान समेत छैन, यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घ प्रमुखले गाजामा चलिरहेको युद्धको गम्भीरता दृष्टिगत गरी युएन चार्टरको अनुच्छेद ९९ लागु गर्दै सदस्य राष्ट्रहरूलाई बुधवार लेखेको पत्रमा उक्त कुरा उल्लेख गरेको बिबिसीले एक समाचारमा जनाएको छ ।

उक्त: अनुच्छेद संयुक्त राष्ट्रसङ्घको सबै भन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ । अनुच्छेद मार्फत संयुक्त राष्ट्रका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरा उत्पन्न हुने कुनै पनि मामिलालाई सुरक्षा परिषद्को ध्यानाकर्षण गराउन सक्छ ।

यसलाई संयुक्त राष्ट्र चार्टरहरू मध्ये सबै भन्दा शक्तिशाली प्रावधान मानिन्छ । राष्ट्रसङ्घको इतिहासमा यो अनुच्छेदको प्रयोग अहिले सम्म ९ पटक मात्र भएको छ । दशकौँ यता यसको प्रयोग भएको छैन ।

संयुक्त राष्ट्रसङ्घले युद्ध सुरु भए यता गाजामा युद्धले उत्पन्न गरिरहेको मानवीय संहारको बारेमा चेतावनी दिँदै आएको छ । युद्ध रोक्नका लागि अपिल गरिरहेको छ । यस अवस्थाका बिच बुधवार महासचिव एन्टोनियो गुटरेसले आफ्नो सबै भन्दा शक्तिशाली ‘डिस्ट्रेस सिग्नल’ सङ्कटको सङ्केत मध्ये एक लागु गरेका हुन ।

ताकि स्थितिको गम्भीरतामा सदस्य देशहरूको ध्यानाकर्षण होस र यस सङ्कटप्रति ध्यान केन्द्रित गरेर मानवीय युद्ध विराम लागु गरियोस् । राष्ट्रसङ्घ काउन्सिलका अधिकांश सदस्य देश युद्ध विरामको पक्षमा छन् । तर अमेरिका युद्धमा इजरायलको घनिष्ठ सहयोगी बनेको छ । जो राष्ट्र सङ्घमा भिटो प्रयोग गर्न सक्छ र उ युद्ध विरामको पक्षमा छैन ।

महासचिव गुटरेसले राष्ट्रसङ्घ काउन्सिलका सदस्य राष्ट्रहरूलाई लेखेका छन् ‘गाजामा बस्नेहरू हरेक मानिस खतराको जीवन बाँचेका छन्, किनकि गाजाको कुनै पनि ठाउँ अब सुरक्षित छैन ।’

उनले पत्रको अन्तिममा लेखेका छन् ‘यो सङ्कटलाई अघि बढ्नबाट रोक्ने र समाप्त गर्न आफ्नो सबै प्रभाव प्रयोग गरी मानवीय युद्ध बिराम गर्ने दायित्व अब अन्तर्राष्ट्रिय समुदायको बनेको छ ।’