धरान : संयुक्त राष्ट्रसङ्घ महासभाले गाजापट्टिमा मानवीय आधारमा तत्काल इजरायल-हमास युद्ध विराम गर्नुपर्ने प्रस्ताव परित गरेपनि गाजामा इजरायली आक्रमण जारी छ ।

गत: ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमण लगत्तै इजरायलद्वारा गाजामा सुरु गरिएको हवाई आक्रमण रोकिएको छैन । अहिले सम्म त्यहाँ मृत्यु हुनेको सङ्ख्या ८ हजार नाघेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमवार देखी गाजापट्टीमा इजरायली थलसेना समेत प्रवेश गरेको छ । बिबिसीको स्थलगत समाचार अनुसार गाजा सहर नजिक उत्तर र दक्षिण जोड्ने मुख्य सडकबाट इजरायली बख्तबन्द ट्याङ्कहरू प्रवेश गरेको देखिएको छ ।

उक्त सडकबाट गाजामा भइरहेको आक्रमणबाट बच्न प्यालिष्टाइनहरू उत्तरी गाजाबाट दक्षिण गाजामा गइरहेका छन् । यसैबिच इजरायली डिफेन्स फोर्सले बितेको २४ घण्टा भित्र गाजाको ६०० भन्दा बढी स्थानमा हवाई हमला गरिएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धका कारण उत्तरी गाजाका अस्पतालमा फसेका सयौँ बिरामी, घाइतेहरूलाई सुरक्षित स्थानमा लैजान असम्भव भएको जनाएको छ । 

प्यालिष्टाइन रेड क्रिसेन्ट सोसाइटीले गाजा सिटी स्थित अल-कुद्स अस्पताल नजिक हवाई आक्रमण भइरहेको छ । उद्धारकर्मीहरूले कसैलाई बचाउने प्रयास समेत गर्न सकिने अवस्था छैन ।

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता एक जर्मन इजरायली महिला शैनी लाकको मृत्यु भएको उनकी आमाले पुष्टि गरेकी छन् । शैनी हमासले बम आक्रमण गरेको सङ्गीत महोत्सवमा थिइन् ।