धरान : इजरायल-हमास युद्धमा गाजापट्टीमा भइरहेको इजरायली हमलामा मृत्यु हुने प्यालिष्टाइनी नागरिकको सङ्ख्या बिहीबार सम्म ९ हजार ६१ जना पुगेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अक्टोबर ७ पछि सुरु भएको सङ्घर्षमा इजरायली आक्रमणबाट मृत्यु भएको उक्त सङ्ख्यामा ३ हजार ७६० बालबालिका छन् । घाइतेहरूको सङ्ख्या ३२ हजार पुगेको बिबिसीले एक समाचारमा उल्लेख गरेको छ ।

चिकित्सकहरूको अन्तर्राष्ट्रिय संस्था ‘डाक्टर्स विदाउट बोर्डर’ले जनाए अनुसार इजरायली बमबारीबाट बचेका २० हजारको सङ्ख्यामा घाइतेहरू गाजापट्टीमा फसेका छन् । जहाँ इजरायली सेनाद्वारा स्थल र हवाई आक्रमण निरन्तर जारी छ ।

इजरायली हमलाबाट मृत्यु हुनेहरूको यो सङ्ख्या २७ दिनको हो । यो हिसाबले गाजापट्टीमा भइरहेको आक्रमणमा दैनिक ३०० जना भन्दा बढी प्यालिष्टाइन नागरिकको मृत्यु भइरहेको छ ।

गाजापट्टी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलद्वारा बुधवार जबालिया शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा मृत्यु, घाइते र बेपत्ता हुनेको सङ्ख्या १ हजार बढी छन् । गाजामा निरन्तर आक्रमण भइरहेकाले त्यहाँबाट घाइतेहरू, त्यहाँ फसेका विदेशीहरूलाई उपचारका लागि बाहिर ल्याउन कठिनाइ भइरहेको थियो ।

तिन साता अघि युद्ध सुरु भएयता बन्द गरिएको रफाह क्रसिंङ नाका बुधवार पहिलो पटक खुला गरिएपछि बल्ल घाइतेहरू, विदेशी नागरिक गाजाबाट बाहिरिँदै छन् । संयुक्त राष्ट्र सङ्घले जनाए अनुसार बुधवार ४ सय बढी नागरिक गाजाबाट बाहिरिएका छन् ।

युद्धका बिच इजरायलले गाजापट्टीबाट हमासले बन्धक बनाएका महिला, बालबालिका, ज्येष्ठ नागरिक सहित २४२ जनालाई मुक्त गराइएको जनाएको छ । गाजामा इजरायलले अहिले सम्म १० हजार वटा बम प्रहार गरेको इजरायली रक्षामन्त्रीले बताएका छन् ।

यसैबिच गाजापट्टीमा निरन्तर भइरहेको इजरायली हवाई बमबारीको विरोध गर्दै अरब मुलुक बहराइनले इजरायलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । बहराइन इजरायलको नयाँ मित्र देश बनेको थियो । इजरायलले पनि बहराइनबाट राजदूत फिर्ता गरेपछि दुई देश बिचको आर्थिक सम्बन्ध पनि स्थगित भएको छ।

गाजापट्टीमा हमासले बन्धक बनाएका २५ जना थाई नागरिकलाई छुटाउन थाइल्यान्डका सरकारी अधिकारीहरूले हमास सँग सिधा वार्ता गरिरहेका छन् । उनीहरूले बन्धक छाड्ने कुरामा हामस सँग भरोसा गर्न सकिने अवस्था भएको जनाएका छन् ।

अस्ट्रेलियाले गाजामा इजरायली बमबारीको विरोध गरेका छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले इजरायललाई हवाई आक्रमण बन्द गर्न अपिल गरेको जानकारी दिदैं भने ‘किन भने निर्दोष नागरिकको मृत्यु भइरहेको अवस्थालाई अन्तर्राष्ट्रिय जगतले कदापि जायज मान्दैन ।’