धरान : इजरायलले गाजामा हमास विरुद्ध युद्ध विश्वको समर्थन नरहे पनि जारी रहने उद्घोष गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, ‘हमासको खिलाफ इजरायलको युद्ध विश्वकै दबाब आएपनि कसैले रोक्न सक्दैन ।’

सामाजिक सञ्जाल ‘एक्स’मा जारी भिडियो सन्देशमा उनले भनेका छन्, ‘फिल्डका सैनिक कमान्डरहरूलाई भनेकै कुरा दोहर्‍याउँदै स्पष्ट गर्न चाहन्छु कि हामी यो युद्ध अन्तिम समय सम्म जारी राख्छौ, यसमा कुनै प्रश्न नै छैन । हाम्रो सैनिक जवान गुमाउनु परेको गहिरो पीडाको बिच अन्तर्राष्ट्रिय दबाबका बाबजुद म भन्छु कुनै पनि कुराले हामीलाई रोक्न सक्दैन, विजयी भइन्जेल सम्म हामी युद्ध लड्छौँ ।’

बिबिसीले जनाए अनुसार यसअघि संयुक्त राष्ट्रसङ्घ महासभाले गाजामा युद्ध विरामको विकल्प नभएको निष्कर्ष पारित गरेको थियो । त्यसको प्रतिक्रियामा इजरायली विदेश मन्त्री एली कोहेनले भने ‘यो युद्ध विश्वको दबाब र बिना दबाब दुवै परिस्थितिमा जारी रहन्छ ।’

उनले अहिलेको युद्ध विराम (आतङ्कवादी) हमासको लागि एउटा ‘गिफ्ट’ हो, यदि युद्ध रोकिए हमास फेरी फर्कनेछ र इजरायली माथि खतरा फेरी बढ्ने बताए ।

गाजामा लगातार भइरहेको इजरायली हमलाको प्रसङ्गमा केही समय अघि अमेरिकी राष्ट्रपति जो वाइडनले एक सहयोग सङ्कलन कार्यक्रममा भनेका थिए ‘गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायल दुनियाँभरको समर्थन गुमाउने काम गरिरहेका छ ।’

इजरायललाई सल्लाह दिँदै राष्ट्रपति वाइडनले भनेका थिए, ‘अमेरिका इजरायलको साथमा उभिएको छ, अहिले ऊसँग अमेरिका सहित अरू पनि छन्, युरोपीय सङ्घ पनि साथ छ । दुनियाँको अधिकांश हिस्सा छ, तर अन्धाधुन्ध बमवारिका कारण त्यो विश्व समर्थन इजरायलले गुमाउँदै छ ।’