धरान : प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रहरीले पक्राउ गरेका पहिचानवादी आन्दोलनकारीद्वय बुद्धशान्ति गाउँपालिकाका बुलेट किराँती अञ्जेस राई र धनकुटाका महेश राईलाई हप्ता दिन बितिसक्दा पनि रिहाइ नभएकाले बिना सर्त तुरुन्त रिहाइ नगरेमा संयुक्त सङ्घर्ष समिति सशक्त आन्दोलन गर्न बाध्य हुने जनाएको छ ।
समितिले बुधवार वक्तव्य जारी गर्दै उक्त चेतावनी दिएको हो। इलाममा बन्दको बेला पिकअप भ्यानमा भएको आगजनी गरेको आरोपमा पुस २ गते प्रहरीले बुलेट किराँती अञ्जेस राईलाई झापाको अर्जुनधारा-११ बाट पक्राउ गरेको थियो ।
उक्त आगजनी घटनामा संयुक्त सङ्घर्ष समितिको कुनै संलग्नता नभएको बताइएको छ । बुद्धशान्ति गाउँपालिकाका राईलाई झुटो मुद्दा लगाइएको बुझिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘ शान्तिपूर्ण बन्दको आन्दोलनलाई कमजोर बनाउन र आन्दोलनकारीलाई फसाउन प्रतिगामी, षडयन्त्रकारी तत्त्वले योजनाबद्ध रूपमा इलामको रोङ गाउँपालिका-४ किटानीमा मे १ ज ११४० पिकअपमा आगजनी गरी त्यसको दोष संयुक्त सङ्घर्ष समिति बुद्धशान्तिका संयोजक बुलेट किराँती अन्जेस राईलाई आरोप लगाउँदै पक्राउ गरिएको हो ।’
यसैगरी मङ्सिर २८ गते धनकुटा लेगुवामा केपी ओलीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएका महेश राईलाई हप्ता दिन बितिसक्दा पनि विभिन्न षडयन्त्रका तानाबाना बुन्दै धनकुटाका प्रमुख जिल्ला अधिकारीले रिहाइ गर्न आनाकानी गरिरहेको वक्तव्यमा उल्लेख छ ।
महेश राई र उनको श्रीमतीको मानव अधिकारको रक्षाका लागि मानव अधिकारवादी संस्थाहरूको ध्यानाकर्षण गराउँदै वक्तव्यमा भनिएको छ ‘घटना कै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले अपराधी झैँ हत्कडी लगाएर गिरफ्तार गरी हिरासतमा राखी अमानुषिक यातना दिइएका महेश राईको श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यवाजी गर्न लगाउने मानसिक हिंसा गर्ने गम्भीर मानव अधिकार उलङ्घनका घटनाहरू भइरहेका छन् ।’
विना कुनै विलम्ब बुलेट किराँती र महेश राईको विना कुनै सर्त तुरुन्त रिहाइ नगरेमा प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति सशक्त आन्दोलन गर्न बाध्य हुने वक्तव्यमा उल्लेख छ ।
andalon-pahichan