इटहरी : सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँलाई भ्रष्टाचारको आरोप लागेको छ । नगरपालिका भित्रका खोलाको नियोजित रूपमा ठेक्का (टेण्डर) नलगाई अमानतमा कर उठाउने बहानामा करोडौँ भ्रष्टाचार भएको आरोप लागेको हो ।
सुन्दरहरैचा नगरपालिकाका राजनैतिक दल तथा व्यवसायीक संस्थाका प्रतिनिधिले गुरागाईँले भ्रष्टाचारमा मुछिएको बताएका छन् । विभिन्न ६ राजनैतिक दल तथा २ उद्योग वाणिज्य सङ्घका अध्यक्षहरूको संयुक्त विज्ञप्तिमा मेयर गुरागाईँले अनियमितता गरेको उल्लेख छ ।
नेपाली काँग्रेस सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा (एस) अध्यक्ष तिलकप्रसाद ढकाल, रास्वपा सभापति टेकमणि न्यौपाने, जनमुक्ति पार्टी उपाध्यक्ष पुरन राई, जसपा अध्यक्ष शङ्कर देवान, सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उवासंघ अध्यक्ष जीवन ढुङ्गाना लगायतले संयुक्त विज्ञप्ति प्रकाशित गरेका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रममा वृद्धि भएको करले जनतालाई सास्ती दिएको उनीहरूको ठहर छ । यसअघि वडा नम्बर २ का स्थानीयले कर समायोजनको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसको लामो समयपछि राजनैतिक दलहरूले चासो दिएका हुन् । पुस १५ गते भित्र कर समायोजन भए १६ गतेदेखि आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
१६ बुँदे विज्ञप्तिमा शिक्षकको मानमर्दन गर्ने र मनोगत निर्णय गरी पाँच हजार सरुवा शुल्क लिने कदमको विरोध जनाइएको छ । इन्द्रपुर रङ्गशाला तथा औद्योगिक प्रदर्शनी स्थलको लागि घेराबारा गरिएको जग्गा अतिक्रमण हुँदा मेयर मौन भएको आरोप लागेको छ ।
स्वास्थ्य शाखाका स्थायी कर्मचारीहरूलाई श्रावणदेखि हालसम्म तलब नदिई मानसिक दबाबमा राखेको बताउँदै मेयर पुर्णरुपमा असफल भएको बताएका छन् ।
मेयर गुरागाईँले सिटी सफारी व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिकासँग समन्वय गर्न नसकेको आरोप छ । निर्माणाधीन हसिना सिमसारको कार्य अलपत्र पारेको बताउँदै बाघ झोडा सिमसार क्षेत्र, किच्चकगढी, नयाँ वृन्दावन गौशाला जस्ता पर्यटकीय क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन नगरेको बताइएको छ ।
सुन्दरहरैचा नगरपालिकामा निर्णय भई सकेको इलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसँग कुनै पहल नगरेको पूर्व मेयर शिव प्रसाद ढकालले बताए । वर्तमान मेयरले नयाँ काम नगरेको र आफ्नो कार्यकालमा सुरु भएका योजना पनि पुरा गर्न नसकेको उनको भनाइ छ । नगरभित्रका राजनैतिक दल, उद्योग वाणिज्य सङ्घ तथा सामाजिक सङ्घ-संस्थाहरूसँग उचित समन्वय नभएका कारण समग्र नगरको विकासमा असर परेको उनको ठहर छ ।
आफ्नै कार्यकालमा भूमिहीन तथा सुकुम्वासी समस्या समाधानका लागि निस्सा वितरण गर्ने काम भएको बताउँदै उनले वर्तमान मेयरले त्यसमा चासो नदिएको प्रस्ट पारे ।