धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थायी सरकार प्रमुखको कार्यकक्षबाट राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली माथि गम्भीर प्रहार गरेकोमा पाँच राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन् ।

तीन तहको सरकार मध्ये सबै भन्दा तल्लो स्थानीय तहको सरकार प्रमुखको कार्यकक्षबाट मेयर साम्पाङले आज बिहान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर अपमानजनक ढङ्गले हटाएकोमा राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएको हो ।

वक्तव्यमा भनिएको छ ‘धरान उपमहानगरपालिका प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको छ । यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचन मार्फत निर्वाचित उपमहानगरपालिका प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको ठहर रहेको छ ।’

वक्तव्यमा भनिएको छ ‘स्थानीय तहको कार्यालयमा नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर संविधानको रक्षक र कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको छ ।’

मिति २०८०।९।१२ गतेका दिन धरान उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भित्तामा राखिएको राष्ट्र प्रमुख र राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै वक्तव्यमा उपमहानगरपालिका प्रमुखको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उद्दण्ड शैली मार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ? प्रश्न गरिएको छ ।

लोकतान्त्रिक गणतन्त्र नेपाल राज्य व्यवस्था उन्मुख रहने कुरालाई कसैले नकार्न सकिँदैन। सोही व्यवस्थालाई टेकेर नै नेपालको संविधान २०७२ जारी भएको हो । संविधान प्रदत्त राज्य सञ्चालनको विषयमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भनेर उल्लेख छ । राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने र सोही व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भइरहेको छ ।

वक्तव्यमा २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै भनिएको छ ‘तर विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डता प्रस्तुत गर्दै उपमहानगर प्रमुख अगाडी बढेको देखिन्छ । जसको कारण भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम बारम्बार भएको छ ।’

विज्ञप्तिमा सुन्दर, शान्त, सभ्य र शिक्षित सहरको रूपमा विकसित हुँदै गइरहेको धरान उपमहानगरपालिकालाई हास्य र लज्जाको सहरको रूपमा परिणत नगर्न धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै वक्तव्य मार्फत ‘संविधान र राष्ट्रप्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न’ जोडदार माग गरिएको छ ।

वक्तव्यमा धरानका प्रमुख राजनैतिक दलहरू नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा एमाले उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका कार्यवाहक नगर अध्यक्ष सम्फर तामाङ, जनता समाजवादी पार्टी धरान अध्यक्ष ताजुब लिम्बू ,नेकपा एकीकृत समाजवादी पार्टी धरानका सचिव खेम प्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।

dalharu-PR-new