इटहरी : नेकपा एमालेका जनप्रतिनिधिले इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलको शैली प्रति खेद व्यक्त गरेका छन् । बिहीबार मेयर पौडेलले एमालेका जनप्रतिनिधिको कारण बुधवार हुने भनिएको नगर सभा स्थगित भएको आरोप लगाएपछि त्यस विरुद्ध पत्रकार सम्मेलन गरेका हुन् ।

उपमहानगरको प्राङ्गणका आयोजित सम्मेलनमा उपमेयर सङ्गीता चौधरीले मेयर पौडेल आफैले नगर सभा स्थगित गरेर एमाले प्रति आक्षेप लगाएको बताइन् । संसदीय दलको नेता उपमेयर चौधरी, १७ नम्बर वडाका अध्यक्ष प्रभात आचार्य र संसदीय दलका उपनेता प्रमोद शेर्पाको कारण नगर सभा स्थगित भएको मेयर बताएका थिए ।

खण्डन गर्ने क्रममा उपमेयर चौधरीले मेयरले पत्रकार सम्मेलन गरेर ढाँटेको बताइन् । १४ औँ नगर सभाबाट इटहरीमा वृद्धि भएको राजस्व घटाउने कार्यपालिकाको निर्णय एमालेका कारण असफल भएको मेयरको आरोपमाथि एमालेले खेद व्यक्त गरेको छ । ३ नम्बर वडा अध्यक्ष उमेश सुवेदीले मेयर पौडेलले ढाँटेर जनतामा भ्रम छरेको बताए ।

राजस्व पुनरावलोकन अध्ययन कार्यदलका संयोजक समेत रहेका सुवेदीले मेयर पौडेलले आफूमाथि प्रतिवेदन ४ पन्ना च्यातेर ल्याएको आरोपको विरोध गरेका छन् । ‘म बिरामी श्रीमती लिएर इटहरी मेडिकल गएको दिन कसरी पन्ना च्यात्न सक्छु ? मैले पन्ना च्यातेको भनेर कति ढाँट कुरा गर्न सकेको ? मेयरले भनेको नमानेको कारण यो घटना भएको हो । गलत कामको विरोध गर्दा यस्तो भयो,’ उनले भने ।

विधि पद्धति र कानुन मिचेर महाशाखालाई शाखा बनाउने र ओएनएम पारित नगरी महाशाखामा कर्मचारी राख्ने काम भएको उनले बताए ।

विधि नियम र पद्धतिको कुरा गर्ने मेयर आफैले सिस्टम मिचेको संसदीय दलका उपनेता तथा कार्यपालिका सदस्य प्रमोद शेर्पाको भनाइ छ । राजस्व परामर्श समितिको संयोजक तथा उपमेयरलाई समेत थाहै नदिई अलमल्याएर मेयरले राजस्व वृद्धि गरेको उनले प्रस्ट पारे ।

चेतावनीको शैलीमा शेर्पाले भने, ‘मेयरले गरेका कर्तुतको भण्डाफोर गर्नुपर्‍यो भने नराम्रो होला । अहिले म संयमता गुमाउन चाहन्न । तर सबै कुरा खोल्नुपर्‍यो भने राम्रो हुँदैन ।’

एमालेलाई लगाएको आरोपको खेद व्यक्त गर्दै शेर्पाले विनियोजन विधेयक र अर्थ विधेयकमा कुनै पनि छलफल नभएको धारणा राखे ।

सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रयास गरेको १६ वडा अध्यक्ष तेजनारायण चौधरी बताउँछन् । संवेदनशील भएर अगाडि बढिरहेको बताएका उनले मेयर पौडेलले पुँजीगत खर्चको बजेट चालू खर्चमा लगेको र पुँजीगत खर्चको पैसा आर्थिक सहयोगमा बाढेको आरोप लगाएका छन् ।