इटहरी : नेपाली काँग्रेसका नेताहरूले जनप्रतिनिधिको टिकट वितरणको जिम्मेवारी सम्बन्धित तहलाई दिन सुझाव दिएका छन् । शनिवार सुनसरीको इटहरीमा आयोजित लोकतन्त्रका संवाद कार्यक्रमका अतिथि नेताहरूले पार्टी कार्यकर्तामुखी हुनुपर्ने बताए ।

काँग्रेस सुनसरी सभापति केदार भण्डारीले काँग्रेस एक ढिक्का भएर मात्र लोकतन्त्रको रक्षा हुने धारणा राखे । काँग्रेसको विधान समयानुकूल संशोधन गर्नै पर्ने बताएका उनले सबै तहका सभापतिलाई उपसभापति, सहसचिव लगायत मनोनीतको अधिकार दिनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय सदस्य तथा पदाधिकारी समेत वडा तह देखी नै निर्वाचित हुँदै जानुपर्ने संवादमा सहभागीहरूले बताए । आसन्न महासमिति बैठकको तयारीको लागी राखिएको संवाद कार्यक्रममा कोशी प्रदेशमा विभिन्न तहका नेताहरू उपस्थित भएका थिए ।

कार्यक्रम सहभागी नेताहरूले केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापतिहरू क्षेत्रीय प्रतिनिधिको मतले निर्वाचित हुनुपर्ने धारणा राखे । पार्टीमा सुशासन कायम गर्दै आचरण राम्रो भएको व्यक्तिहरूलाई अगाडी ल्याउनुपर्ने सहभागीको सुझाव छ ।

नेपालमा सङ्घीयताका सवालहरू, नेपालको निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधिको जबाफदेहिता, लोकतान्त्रिक चरित्र निर्माण र पार्टी विधानमा संशोधनका  विषयहरूमा संवाद भएको छ ।

तीन घण्टा लामो छलफल र संवाद पछि उठेका सवाललाई महासमिति बैठकमा पुर्‍याउने गरी दस्ताबेज तयार पारिएको नेता कुमार लुइँटेलले बताए । उनका अनुसार समूहगत छलफलबाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने नेपाली काँग्रेसको महासमिति बैठकमा प्रस्तावको रूपमा पेस गर्न लागिएको हो ।

काँग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले पार्टीको आठ तहको साङ्गठनिक संरचना भद्दा भएको हुनाले यसलाई चुस्त र छरितो बनाउनुपर्ने बताए । अनावश्यक  साङ्गठनिक संरचनालाई विधान संशोधन मार्फत हटाउनु पर्ने बताए ।

युवा नेत्री उमा सिवाकोटीले आम मानिसको चाहाना युवा नेतृत्व रहेकाले अबको पार्टी सभापतिको जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् । आम नागरिक र कार्यकर्ताको मन जित्दै परिवर्तनलाई स्विकारेर अघि बढ्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

congress-sambad-itharai-2