विराटनगर : ठोस परिणाम दिने योजना नै छान्ने हो भने योजना आयोगबाट छान्ने कि नछान्ने, कि नेताको खल्तीबाट निकालेको योजनामा रमाएर बस्ने ? यो प्रश्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रालयका सचिवहरूलाई गरेका हुन् ।

सङ्घीय सरकारमा समपूरक र विशेष अनुदानका लागि कोशी प्रदेशले कस्ता योजना प्रस्ताव गर्ने विषयमा छलफल गर्न बोलाइएको कार्यक्रममा सोमबार मुख्यमन्त्री कार्कीले सचिवहरूलाई उक्त प्रश्न गर्दै भने, ‘नेतामुखी विकासले निराश भएका युवा तथा प्रदेशवासीमा आशा जगाउने योजना ल्याउन जरुरी छ ।’ 

त्यसैले अहिले योजना बैङ्क निर्माण गर्न लागिएकाले अब योजना बैङ्कको योजनामा मात्रै प्राथमिकता क्रममा बजेट विनियोजन हुने उनले बताए ।

उद्योग मन्त्रालयमा उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि आएको बजेट जिल्लामा छरेर उद्यम विकास हुन्छ ?, मुख्यमन्त्रीको अर्को पश्न थियो । उनले भने, ‘निरीहता नदेखाऔँ, सिर्जनात्मक बनौँ । युवाहरूमा आशा जगाउन सिर्जनात्मक बन्ने कि नबन्ने ?’

प्रदेशका सबै उद्योगी र धनी भएपछि मात्रै प्रदेश आत्मनिर्भर हुने बताउँदै मुख्यमन्त्रीले त्यसैले उद्योगीलाई आकर्षित गर्ने र प्रविधि हस्तान्तरण गर्ने बजेटलाई उपयोग गर्न सचिवहरूलाई निर्देशन दिए । नयाँ आकर्षक योजना नबनाउने तर भएको बजेटमा लुछाचुँडी गरिरहने प्रवृत्तिले प्रदेश अघि नबढ्ने उनको भनाई छ ।

उनले खानेपानीमा नयाँ योजना ल्याउने र १० युनिट सम्म खानेपानी निःशुल्क दिएर ११ युनिटबाट १ बाट गणना गरेर महसुल लगाउन निर्देशन दिए । उनले प्रश्न गरे, ‘निःशुल्क खानेपानी खुवाउन कुनै समस्या छ ?’ १० युनिटभन्दा बढी पानी खपत गर्नेले तिरेको पैसा सरकारको लागि पुग्ने उनले बताए ।

पर्यटन क्षेत्र फस्टाएन भन्ने तर गाउँका पटुवा धुने पोखरी र घर छेउको मन्दिरमा बजेट दिएर पर्यटन व्यवसाय नफस्टाउने उनले बताए । मन्त्रालयका सचिव र कर्मचारीहरू सिर्जनात्मक योजना ल्याएर काम नगरेसम्म प्रदेशवासीमा आशाको सञ्चार नहुने मुख्यमन्त्रीको कथन थियो । उनले भने, ‘कोशी प्रदेशको पर्यटन र कृषि क्षेत्रका लागि परिवर्तनकारी योजना ल्याएर युवालाई आकर्षित गर्नुको विकल्प छैन ।’

सङ्घीय सरकारले आउँदो आर्थिक वर्षका लागि माघ २० गतेभित्र प्रदेश सरकारलाई समपूरक र विशेष अनुदानका लागि योजना प्रस्ताव गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ । त्यसैका लागि सचिवहरूको छलफल बोलाइएको हो ।