इटहरी : माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले चुनावी प्रचारप्रसार अगाडि बढाएका छन् । गठबन्धनमा आबद्ध दलहरूले निर्वाचन परिचालन समिति गठन गरेर चुनावी तयारी सुरु गरेका हुन् ।

केन्द्रीय नेताहरूको उपस्थितमा बुधवार नेपाली काँग्रेस सुनसरीले इनरुवामा उम्मेदवारको परिचय कार्यक्रम राख्यो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश सांसद र मेयर उपमेयर सँग प्रत्यक्ष भेटघाट गर्न सुझाव दिए ।

काँग्रेसको तर्फबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौलालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष भेटेर चिया गफ गरेपछि मतदानको आत्मविश्वास बढ्ने बताए । मतदाता आफैमा नेताहरू भएकाले उनीहरूलाई आफ्नो मतको सही सदुपयोग भएको विश्वास दिलाउन र अपनत्व महसुस गराउन अनौपचारिक भेट जरुरी रहेको सुनाए । काँग्रेस उम्मेदवार सिटौलाले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका भन्दा अझै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने कार्कीको भनाइ छ ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी चम्पादेवी कार्की र काँग्रेसका सिटौला उम्मेदवार छन् ।