इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले पहिचान र प्रतिनिधित्वको पक्षमा अनवरत लागिपर्ने बताएका छन् । नेपाली काँग्रेस भित्र र बाहिर आदिवासी जनजातिहरूको प्रतिनिधित्व केही हदमा भइरहेपनि त्यो अपुग भएको उनले बताए ।

नेपाल लोकतान्त्रिक आदिवासी महासङ्घ सुन्दरहरैचाको पहिलो नगर अधिवेशनको प्रमुख अतिथि रहेको डा कोइरालाले सहअस्तित्वको लडाइमा साथ र सहयोग रहने बचन दिएका छन् । पहिचान सहितको विकाश र परिवर्तनलाई मात्र जनताले अपनत्व महसुस गर्ने उनको भनाइ छ ।

छलफलमा बसेर एउटा निष्कर्षमा पुग्न सकिने बताउँदै डा. कोइरालाले पहिचानको पक्षमा संवाद गर्न तयार रहेको बताए । उनले भने, ‘पहिचानको लडाइ अहिले पनि चलिरहेको छ । त्यो पहिचानको लडाइँमा नेपाली काँग्रेस तपाईँहरूको पक्षमा छ भन्ने कुरा बुझ्नुपर्‍यो ।’

त्यसअघि नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले पहिचानको सवालमा काँग्रेसले निर्णय गरेर जानुपर्ने बताएका थिए । कोशी प्रदेशको नाम उल्लेख गर्न नसक्ने बताउँदै उनले आदिवासीको पहिचानलाई प्रतिनिधित्व हुने नाम राख्न आग्रह गरे । काँग्रेसले आगामी महासमिति बैठकबाट पहिचान र प्रतिनिधित्वको विषयमा ठोस निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।