धरान : बिपी प्रतिष्ठानमा उत्पन्न गतिरोध अन्त्य गर्न कार्यकारिणी समितिका चारै जना पदाधिकारी काठमाडौँ पुगेका छन् । उनीहरू काठमाडौँ हिँडे लगत्तै समस्या टुङ्ग्याएरै फर्किने भन्दै धरानका प्रमुख ५ राजनीतिक दलका नेतृत्व पनि काठमाडौँ पुग्दै छन् ।

प्रतिष्ठानका कामु उपकुलपति प्राडा.प्रह्लाद कार्की अस्ति नै काठमाडौँ पुगेका हुन् । शिक्षाध्यक्ष प्राडा.सञ्जीव शर्मा, रजिष्टार सूर्यप्रसाद संग्रेल र अस्पताल निर्देशक हिजो आकस्मिक रूपमा भद्रपुर हुँदै काठमाडौँ गएका हुन् । विराटनगर बाट हवाई उडान मौसमका कारण अवरुद्ध भएकोले उनीहरू भद्रपुर हुँदै भएपनि तत्काल काठमाडौँ गएका हुन् ।

चारै पदाधिकारी काठमाण्डौं हिँडेपछि धरानका प्रमुख ५ दलका नेतृत्वहरू काँग्रेसका श्याम पोखरेल, नेकपा एमाले हर्कजंग एभेङ, नेकपा माओवादीका मनोज भट्टराई, जसपाका नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका जीवन राई आजै काठमाडौँ पुग्दै छन् ।

दलहरूको प्रतिनिधि मण्डलमा धरानका पूर्व मेयर तिलक राई, उपमहानगरपालिका कार्यपालिकामा काँग्रेस संसदीय दलका नेता प्रवीण राई, काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ पनि रहेका छन् ।

बिपीका सहकुलपति तथा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतसँग आज उपकुलपति सहित चारै जना पदाधिकारी बिच समस्या समाधानका विषयमा छलफल हुनेछ । यसबिच दलका नेताहरूले पनि मन्त्री बस्नेतलाई भेटेर छलफल गर्ने समय मिलाएको बताइएको छ ।

यसअघि राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बिपीको समस्या तत्काल निकाश गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री र मुख्य सचिवलाई समस्याको हल खोज्न निर्देशन दिएको काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए ।

उनका अनुसार यसपालि बिपीका पदाधिकारीहरूलाई समस्या समाधान नगरी नफर्कन खबरदारी गर्दै राजनीतिक तहमा प्रधानमन्त्री सम्म समस्या समाधानको दबाब पुराउन राजनीतिक दलको प्रतिनिधि मण्डल काठमाडौँ गएको हो ।