धरान : कवि शिरोमणि साहित्य साधना समाजद्वारा लेखनाथ पौड्यालको १४० औँ जन्म जयन्तीको अवसरमा झापा र मोरङका २ जना साहित्य श्रष्टालाई १०/१० हजार रुपैयाँको पुरस्कार सहित सम्मान गरेको छ ।

पुरस्कारद्वारा सम्मानित हुनेमा झापा दमक निवासी प्राध्यापक मोहनप्रसाद भण्डारी र मोरङ बेलबारीकी तिला लेकाली छिन् । श्रष्टाद्वयलाई आज शनिवार समाजद्वारा आयोजित कविता प्रतियोगितामा सम्मानित गरिएको हो ।

दमकका मोहनप्रसाद भण्डारीलाई १० हजार रुपैयाँ राशी सहितको प्राध्यापक टिकाप्रसाद शर्मा बस्ती पुरस्कार प्रदान गरिएको छ ।

प्राच्य विज्ञान अनुसन्धान संस्थानका अध्यक्ष, ऋतम्भरा महाकाव्यका रचयिता सहित अनुसन्धान मुलुक कृतिहरू प्रकाशित गरेका भण्डारीलाई प्रमुख अतिथि पूर्वप्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, कोषराज न्यौपानेले दोसल्ला ओढाई पुरस्कार प्रदान गरे।

बेलबारीकी तिला लेकालीलाई १० हजार रुपैयाँ राशिको वेदकुमारी खड्गबहादुर थापा स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको हो ।

सारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मानित लेकाली गजल, हाइकु, कविता र कथाको क्षेत्रमा योगदान गर्दै आएकी श्रष्टा हुन । उनलाई पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर लगायतले दोसल्ला ओढाई सम्मानित गरे ।

उक्त अवसरमा प्रतियोगितात्मक कविता वाचन गरिएका थिए । १५ जना कविहरूबाट प्रतियोगितामा सहभागीताका लागि छनौट भएकामा कविता वाचन गर्न १० जना उपस्थित भएका थिए ।

धुलिखेल समाजको भवनमा भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सिद्धिकर्ण शर्माले गरेका थिए । कार्यक्रमको सञ्चालन डा.महानन्द तिम्सिनाले गरेका थिए ।

Dharan Samman 2