विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका छन्।
संयुक्त अधिराज्य बेलायतको सेनाका रथी, गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईको टोलीसँग आइतबार भएको शिष्टाचार भेट भएको मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराएका हुन ।
गोर्खा ब्रिगेडको टोलीले सात प्रदेशका मुख्यमन्त्री भेट्ने क्रममा पहिलो पटक कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेका हुन ।
शिष्टाचार भेटमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यसवर्ष ३३६ जना भर्ना भएर गइरहेको बताए । गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्रीलाई कर्णेल रिचार्डले धरानमा पूर्व गोर्खा सेनाका लागि मात्रै वेल्फेयरको कार्य गर्दै आएको अहिले विस्तार गरी आम नेपालीका लागि पनि कल्याणकारी योजनाको कार्य भइरहेको बताए ।
मुख्यमन्त्री कार्कीले पूर्व गोर्खाहरूको बसोबास रहेको धरान र इटहरीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले २ दशमलव ५ किलोमिटर सुरुङ मार्गबाट तमोरको पानी ल्याउने योजना बनाएको बताए ।
चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको जानकारी दिदैं मुख्यमन्त्री कार्कीले तमोरको पानीसँगै २५ मेगावाट विद्युत् उत्पादन, सिँचाइको योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरे ।
शिष्टाचार भेटमा कर्णेल सङ्घीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइ रहन पनि गोर्खाको भूमिका भएको उनले बताए ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































