विराटनगर : बिहान वाकिङमा निस्कँदा लगाउने ट्र्याक सुट लगाएका भद्र, भलाद्मी देखिने मानिस शुकबार विराटनगर-१६ दरैयामा काँचो बाँसले बनाउँदै गरेको घरको टाँडमा चढेर तारले कर्कटपाताको छाना कस्दै गरेको देखिए।

घर बनाउन उनीसँगै अन्य पनि खटेका थिए । झट्ट देख्नेहरूलाई घर बनाउने हतारमा घर धनीका हुनेखाने आफन्त आफै खटेका जस्तो लाग्न सक्थ्यो । घर बनाउने मिस्त्री जस्तो भने लाग्दैन थियो ।

उनी थिए कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । मुख्यमन्त्री आफै श्रमदान गरिरहेको घर स्थानिय असहाय सुकुम्वासी शिव राईको हो । श्रमिक लगाएर घर बनाउने आर्थिक अवस्था समेत नभएका राईको घर बनाउन मुख्यमन्त्री समेत श्रमदानमा लागेका हुन।

राईको घर बनाउन प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले पनि श्रमदानमा जुटेका थिए । उनको अवस्था देखेर घर बनाउन जीवन विकास समाज कटहरिले आवश्यक सामाग्री प्रदान गरेको हो ।

जाडोको मौसममा परिवारलाई ओछ्याउने म्याट्रेस, त्रिपाल, कम्बल लगायतका लुगा, भाडा वर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन ।

विपन्न असहाय शिव राई आर्थिक अभावमा ३ छोराछोरी सहित ५ जना परिवार एउटै कोठाको सानो झुपडीमा बस्दै आएका थिए । मुख्यमन्त्री र सांसद समेतको सहयोग साथै श्रमदानबाट बाँसकै भए पनि घर बनेपछि राईको परिवारलाई सहज भएको छ ।

मुख्यमन्त्री कार्कीले भने ‘प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर बनाउन आफै पनि श्रमदान लागेको छु ।’

विपन्न गरिबलाई सरकारको अनुभूति गराउन, चुनावको बेलामा गरेको वाचा पूरा गर्न श्रमदान गरेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने ‘सामाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूले गरिबका दुःख बुझेर सघाउँदै फेसबुकमा पोस्ट्याए सकारात्मक परिवर्तन आउँथ्यो ।’

त्यसैले युवाहरूलाई समाजमा सहकार्यका लागि प्रोत्साहित पनि शिव राईको घर बनाउन आफै जुटको उनको भनाई थियो ।

CM-ghar