धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले पुराना सामग्रीको प्रयोगबाट अढाई लाख रुपैयाँको लागतमा पेट्रोल इन्जिनबाट चल्न एउटा र विद्युतबाट चल्ने २ वटा 'गो कार्ट' बनाएका छन् ।

क्याम्पसको मेकानिकल विषयका पहिलो, दोस्रो,तेस्रो, चौथो वर्षका विद्यार्थीहरूले बनाएको उक्त 'गो कार्ट' प्रदर्शन गर्न बिहीबार आयोजित र्‍यालीले नगर परिक्रमा गरेको छ ।

क्याम्पस परिसरबाट सुरु भएको र्‍याली भानुचोक, सदन स्कुल हुँदै धरान उपमहानगरपालिका पुगेको 'गो कार्ट'मा चढेर मेयर हर्क साम्पाङले टेष्ट ड्राइभ गरेका थिए ।

मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका प्रज्वल राईका अनुसार उक्त गो कार्ट लगभग २० दिनमा तयार गरिएको हो । थप ३ वटा ‘गो कार्ट’ बनाएको बताउँदै उनले भने ‘सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेण्ट्सको संयोजनमा करिब ५० जनाको सामूहिक प्रयासले गो कार्ट तयार भएको हो ।’

पेट्रोल इन्जिन ‘गो कार्ट’मा ट्याम्पोको चक्का, बाइकको इन्जिन र स्कुटरको तेल ट्याङ्की प्रयोग भएको छ । प्रतिलिटर २५ किलोमिटर माइलेज दिनेछ ।

विद्युतीय डिजाइनको ‘गो कार्ट’को गति प्रति घण्टा ५० किलोमिटर छ । ह्याभी ब्याट्री लगाउँदा भने  ६० किमी प्रतिघण्टा चल्न सक्ने बनाउन सकिने दाबी गरिएको छ । गो कार्ट बनाउन मेयर हर्क साम्पाङले उपमहानगरपालिकाबाट ५० हजार सहयोग प्रदान गरेको विद्यार्थी राईले बताए ।

विद्यार्थी रोशन लामिछानेका अनुसार विद्युतीय ‘गो कार्ट’ बनाउन धेरै रकम लाग्ने भए पनि इन्धन खर्च बचत हुन्छ । पुरानो सामान प्रयोग हुँदा १ लाख ८० लागतमा विद्युतीय गो कार्ट निर्माण भएको हो ।

विद्युतीय 'गो कार्ट'मा सोलिड बक्स सफ्टवेयर डिजाइनबाट कास्ट्र्ड एङ्गल प्रयोग भएको छ । ब्याट्री, मोटर, ईलेक्ट्रीकल सामान प्रयोग भएको छ ।

गत वर्ष 'धरान डे'मा मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले पेट्रोल इन्जिनको गो कार्ट प्रदर्शन गरेका थिए ।

लामिछानेका अनुसार विभिन्न देशहरूमा गो कार्ट रेस हुने भएकोले यसको महत्त्व बढेको बताए । नेपालमा स्वदेशी सीपले महत्त्व नपाएकाले स्थानिय सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

मेयर हर्क साम्पाङले स्थानीय सरकारले आविष्कार र नवप्रवर्तनको सृजनशील काम गर्ने विद्यार्र्थीलाई सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने ‘राम्रो काम गर्दै जानु सहयोग गर्न तयार छु ।’

Gocart-2gocart-3