धरान : नेपाली काँग्रेस पार्टीको कार्यशैली, सङ्गठन, नीति तथा कार्यक्रममा सुधार गर्नुपर्ने कुरामा स्थानिय नेता, कार्यकर्ताहरूले जोड दिएका छन् ।

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त सुझाव दिएको छ। समितिले फागुनमा हुने महासमिति बैठकमा प्रस्तुत गर्न आवश्यक सुझावका लागि अन्तरक्रिया आयोजना गरेको हो ।

छलफलमा क्षेत्रीय प्रतिनिधि पुष्प ढकालले २०१२ सालमा भएको पार्टीको वीरगन्ज महाधिवेशनले अवलम्बन गरेको समाजवादी आर्थिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचारमा मुछिएका नेतालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पार्टीलाई विधान सम्मत रूपले सञ्चालन गर्नुपर्ने, राजनीतिलाई सेवाको रूपमा अङ्गीकार गर्नुपर्ने बताए ।

सांसद हरिनाथ बास्तोलाले महासमिति बैठकले कार्यकर्ता, सङ्गठन र जनमुखी समयसापेक्ष ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने बताए । उनले पाटीमा उमेर हद र अधिकतम दुई पटक अवसर पाउने नीति हुनुपर्ने बताए ।

डा. जीवनकुमार राईले सङ्घीयता र धर्मनिरपेक्षता संविधानको मर्म अनुसार कार्यान्वयनमा काँग्रेसले जोड दिनुपर्ने बताए । समानुपातिक निर्वाचन प्रणाली मर्म र भावना अनुसार नभएकोले काँग्रेस इमानदार हुनुपर्नेमा जोड दिए ।

प्रदेश सम्मेलन सदस्य सुवास राईले सुकुम्वासीको प्रतिनिधित्वलाई विधानले सुनिश्चितता गर्नुपर्ने र भूमि आयोगले सुकुम्वासी समस्या समाधान गर्न नसकेको बताए ।

तारा लामाले शिक्षा र स्वास्थ्य पूर्ण रूपले निःशुल्क हुनुपर्ने र जनप्रतिनिधि उम्मेदवारको शैक्षिक योग्यता अनिवार्य निर्धारण गर्नुपर्ने बताए।

महिला सङ्घ प्रदेशसभा १(१) का सभापति निर्मला नेपालले नीति तथा कार्यक्रममा महिला लक्षित स्वरोजगार तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

सहभागीहरूले उठाएका गुनासाहरूलाई प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य तिलक राई, श्यामा रेग्मी लगायतले बैठकमा प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गरे ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको अन्तरकृयाको सहजीकरण क्षेत्रीय सचिव प्रवक्ता केशव पुरीले गरेका थिए ।

congress-baithak-2