धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा संस्थापक डिन प्राडा. पराशर नारायण सुवालको स्मृतिमा स्थापित पार्क, उनको अर्धकदको शालिक अनावरण गर्दै बुधवारदेखि खुला गरिएको छ ।

आज बिहान पूर्व उपप्रधानमन्त्री कमल थापा सहित स्वर्गीय सुवालका परिवारको उपस्थितिका बिच धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले पार्क खुला गर्दै सालिक अनावरण गरेका हुन् ।

हालको केन्द्रीय प्रविधि क्याम्पस २०२९ सालमा नेपालमा पहिलो पटक व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको रूपमा धरानमा स्थापना भएको हो । प्रा.डा.पराशर नारायण सुवाल पहिलो डिन भएर धरान आएका थिए ।

उनले २०३० सालमा हात्तीसारको २० विघा जग्गा सरकारबाट अधिग्रहण गराई २०३३ सालदेखि काठको कोठाहरूमा पठनपाठन प्रारम्भ गराएका थिए । प्रा.डा.सुवालको कार्यकालमा बनेको योजना अनुसार हात्तीसार क्याम्पसको अहिलेको संरचना निर्माण भएको हो ।

त्यसबेला इन्स्टिच्युटका रूपमा स्थापित अध्ययन संस्थानलाई पछिल्लो समय स्वायत्तताको नीति लागु गरी केन्द्रीय क्याम्पसमा रूपान्तरण गरिएको हो । 

उपमेयर अइन्द्रविक्रम बेलाले यसका संस्थापक पराशर नारायण सुवालले जुन दुर्दृष्टिको परिकल्पना गरेर धरानमा विज्ञान र प्रविधिको इन्स्टिच्युटको स्थापना गरेका थिए, त्यसलाई पुरा गर्न अब क्याम्पसलाई विज्ञान र प्रविधिको विश्वविद्यालय बनाउने प्रयास गरिनु पर्ने बताए ।

पूर्व उपप्रधानमन्त्री कमल थापाले पराशर नारायण सुवाल नेपालमा विज्ञान र प्रविधि शिक्षाको पहिलो मार्गदर्शक र संस्थापक भएको बताए । विज्ञान र प्रविधिमा पहिलो पिएचडी प्राढा. सुवालले त्रिविवि स्थापनामा निर्णायक भूमिका खलेको बताउँदै भने, ‘शिक्षाको कुरामा उनी दुरदृष्टा थिए ।’

सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले योगदानका कारण हात्तीसार क्याम्पस अहिले पनि मुलुकको अथ्रणी प्रविधि शिक्षाको केन्द्र रहेको बताउँदै प्राडा.सुवालको जीवनीबारे जानकारी दिइएकी थिइन् ।

स्वर्गीय सुवालका छोराद्वय राजेन्द्र नरिसिंह सुवाल, विजेन्द्र सुवालले शिक्षाको क्षेत्रमा आफ्ना पिताका दुर्दृष्टिका बारेमा सम्झना सुनाए । स्वावियु सभापति अभिनव गुरागाईँले संस्थापकको स्मृतिमा सालिक र उद्यान स्थापना विद्यार्थीका लागि प्रेरणाप्रद रहेको बताए । सञ्चालक समिति सदस्य गोविन्दमान श्रेष्ठले स्थापनाकालको सम्झनाहरू सुनाएका थिए ।

क्याम्पस प्रमुख दिलकुमार लिम्बुको सभापतित्वमा भएको समारोहमा क्याम्पसका पूर्व प्राध्यापक डा.मदन कोइरालाद्वारा माता पिताको नाममा स्थापित छात्रवृत्ति २ जना विद्यार्थीलाई प्रदान गरियो । साथै त्रिवि कुलपति कप खेलकुद प्रतियोगीताका विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यसअघि प्रमुख अतिथि उपमेयर बेघाले पराशर नारायण सुवाल स्मृति उद्यानको प्रवेशद्वारको बोड अनावरण गरी पार्क प्रवेश खुला गरेका थिए । पार्क भित्र स्थापित स्वर्गीय सुवालको सालिक उपमेयर बेघा सहित उनका परिवारले संयुक्त रूपमा अनावरण गरेका थिए ।

पार्कमा स्थापित सालिक सुवालका परिवारको लगानीमा निर्माण भएको हो । उद्यानमा हात्तीको यथार्थ आकारको मूर्ति, फूलबारी र आगन्तुकहरूलाई आराम गर्ने फलामका बेन्चहरू बनेको छन् । क्याम्पस तथा दाताहरूको सहयोग सहित उद्यान निर्माणमा २९ लाख रुपया लागत परेको अनुमान रहेको सहायक क्याम्पस प्रमुख अधिकारीले बताइन् ।

hattisaar news 4

hattisaar news 3

hattisaar news 2hattisaar news front