धरान : दोस्रो श्रवणकुमार मेमोरियल डिपो रनिङ कप बास्केटबल प्रतियोगिता हिजो शुक्रवारदेखि डिपो स्कुलको बास्केटबल कोर्टमा सुरु भएको छ ।

उद्घाटन खेलामा कारमेल, सुनाखरी, समिट र प्रभात स्कुल विजयी भएका छन् । कारमेल हाइस्कुलले आइडल स्कुललाई १८-१४ अङ्कको अन्तरले पराजित गरेको छ । खेलको प्रत्येक क्वाटरमा काम्रेल र आइडल स्कुलले ०-३, ७-०, ७-६ र ४-५ अङ्क जोडेका थिए ।

यसैगरी सुनाखरीले सत्य शिशु सदनलाई २४-१०, समिट स्कुलले पदम स्कुललाई ३५-७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४-१५ अङ्कको अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता डिपो स्कुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा सञ्चालन हुँदै आएको हो । प्रतियोगितामा कक्षा-१० सम्मका विद्यार्थीहरू मात्र खेलाडी सहभागी गराइने नियम छ ।

यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धरान-१८ का वडाध्यक्ष, डिपोका पूर्व विद्यार्थी सङ्गठन अध्यक्ष प्रवीण राई र समारोहका सभापति डिपो स्कुल सार्वजनिक गुठीका अध्यक्ष भिमराज लिम्बुले संयुक्त रूपमा गरेका थिए ।

समारोहमा डिपो आदर्श बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले स्वागत मन्तव्यमा विद्यालय र खेलकुद प्रतियोगीताका बारेमा बताएका थिए ।

प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले नगद एक हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत उपाधि विजेताका लागि जनही नगद एक हजार रुपैयाँ प्रदान गर्ने पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनक ऋषि राईले समारोह घोषणा गरेका छन् ।

प्रतियोगितामा १४ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घको प्रविधि सहयोगमा सञ्चालन गरिएको हो ।

shrawankumar memorial 2