वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा सम्पन्न दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं १ ले हात पारेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा वडा नं ५ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै गत सिजनको उप-विजेता वडा नं १ ले उपाधि हात पारेको हो ।

उपाधि हात पारेको वडा नं १ ले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ । रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले वडा नं १ ले अर्को सिजनको लिग हुनु भन्दा एक महिनासम्मको लागि एक केजीको चाँदीको सुन्दर ट्रफी समेत प्राप्त गरेको छ । उक्त ट्रफी ३ पटक विजेता भएपछि मात्र विजेता टिमको स्वामित्वमा हुनेछ । त्यस्तै उपविजेता बनेको वडा नं ५ ले एक लाख एक हजार प्राप्त गरेको छ ।

तेस्रो बनेको वडा नं ३ ले ५१ हजार र चौथौँ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् । विजेता टिमलाई नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल लगायत वडाध्यक्षहरू, जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधिहरूले पुरस्कार रकम, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

वराहक्षेत्र ७ देविघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वडा नं १ दिवस लिम्बु घोषित भए, उनले २१ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

उच्च गोलकर्ता ११ गोल गरेका वडा नं २ का दीपेश तामाङ घोषित भए । अनुशासित टिम वडा नं ६ घोषित भएको थियो । उनीहरूले ११ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्स वडा नं ७ भीम बिक, उत्कृष्ट मिकफिल्ड वडा नं ३ रोशन भुजेल, उत्कृष्ट फर्वाड वडा नं ५ सन्दीप श्रेष्ठ, उत्कृष्ट गोलरक्षक वडा नं १ हुकुम मगर, राईजिङ खेलाडी वडा नं ५ सन्देश चौधरी, उत्कृष्ट प्रशिक्षक वडा नं १ दिनेश राई विधागत उत्कृष्ट खेलाडीले पाँच हजार सहित ट्रफी हात पारेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच वडा नं १ का अभिषेक श्रेष्ठ घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए ।