इटहरी : इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सवमा उद्घाटन हुन नपाउँदै भिडभाड देखिएको छ । सस्तो मूल्यमा नेपाली ब्रान्डका जुत्ता चप्पल पाउने भएपछि ग्राहकको आकर्षण बढेको हो ।

शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सव स्थानीय व्यापारीले अवरोध गरेपछि स्थगित भएको हो । मेयर पौडेललाई स्थानीय व्यापारीले आग्रह गरेपछि तत्कालको लागी उद्घाटन कार्यक्रम स्थगित गर्न आयोजक तयार भएको छ ।

उद्घाटनको कार्यक्रम स्थगित भए पनि बिक्री वितरण नरोकिने आयोजना समितिले जनाएको छ । इटहरी प्रथम जुत्ता चप्पल महोत्सव आयोजक समितिका अनुसार कर कार्यालयबाट अस्थायी पान लिएर कानुन सम्मत रूपमा व्यवसाय सञ्चालन गरिएको हो ।

इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरिएको कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । कानुनले अनुमति दिएका सम्पूर्ण बस्तुको प्रक्रिया पुर्‍याएर बेच्न पाइने भएकाले सोही अनुसार गरिएको उनको भनाइ छ ।

यसअघि बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौँमा ४ पटक सञ्चालन गरिएको उनले जानकारी गराए । इटहरीमा स्थानीय व्यापारी र उद्योग वाणिज्य सङ्घले अवरोध गरेको धमलाको गुनासो छ ।