धरान : नेपालकी चर्चित गायिका मेलिना राईले आज धरान एक्स्पोमा प्रस्तुति दिने भएकी छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज मेलिनाले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौँ गीत चर्चित छन् । उनी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेकी छन् ।

साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा मेलिनासँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

स्थानीय पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको धरान एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय वटा स्टल अवलोकन गर्न सकिनेछ ।