इटहरी : इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सव आगामी २२ गतेसम्म सञ्चालन गर्ने सहमति भएको छ । शनिवार स्थानीय व्यवसायी र महोत्सव आयोजक बिच भएको सहमतिमा आगामी १० दिनसम्म सञ्चालन गर्ने सहमति जुटेको हो ।

शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सव स्थानीय व्यापारीले अवरोध गरेपछि स्थगित भएको थियो।

आइतबार मेयर पौडेलकै प्रमुख आतिथ्यमा उद्घाटन गरिने आयोजना समितिका होमनाथ उपाध्यायले बताए ।

स्थानीय व्यापारीले आग्रह गरेपछि तत्कालको लागी उद्घाटन कार्यक्रम स्थगित भएको थियो । यसअघि फागुन ११ गते देखि चैत १५ गतेसम्म (३५) दिन इटहरीको पश्चिम लाइनमा महोत्सव चल्ने कार्यक्रम तय भएको थियो ।

२० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिने भएको हो ।

महोत्सवमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रशरोड सुज, फस्ट वाक सुज र डिजे सुज उपलब्ध रहेको उपाध्यायको भनाइ छ ।

बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौँमा ४ पटक सञ्चालन गरिएको उनले जानकारी गराए । इटहरीको स्थानीय व्यापारमा समस्या हुने भन्दै अवरोध भएको थियो ।

Itahari-Sahamati-