धरान : मोरङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय तोकेका ३ जना फरार अभियुक्तहरूलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिक्लाजुङ-१ का ४८ वर्षीय जित बहादुर राई, ४१ वर्षीय गङ्गा भन्ने ज्ञान बहादुर राई र ४० वर्षीय लक्ष्मण राई भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरूलाई मङ्गलवार मिक्लाजुङ-१ र काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

उनीहरूले २०६४ जेठ २० गते राती हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ वर्षीय सन्तोष राईलाई लाठी, भाटाले कुटपिट गरी हत्या गरेको थियो । हत्या गरेपछि शवलाई केमुना भन्ज्याङको जङ्गलमा खाल्डोमा पुरेका थिए ।

उक्त घटनामा पक्राउ परेका उनीहरूको मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्रामा जन्म कैदको सजाय भई फरार थिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत मोरङ उपस्थित गराइएको छ ।