धरान : धरान उपमहानगरपालिका वडा १६ नौलो बस्ती बस्ने सुमना श्रेष्ठको शव बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकैको खोल्सामा फेला पर्‍यो । घटनास्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव सुमनाकै रहेको प्रहरीले पुष्टि गर्‍यो ।

चैत ६ गते साथीलाई भेट्न जान्छु भनी हिँडेकी सुमनाको सोही दिन हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

बाख्रा चराउन गएका एक व्यक्तिले श्रेष्ठको शव भुईँमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गर्छन् । तत्कालै इलाका प्रहरी कार्यालय धरानका टोली अपराध स्थलमा पुग्छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी पनि अनुसन्धानको कमान्ड र सुपरिवेक्षणमा जुट्छन् । वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का पनि घटनाको अनुसन्धानमा निस्कन्छन् ।

अन्ततः सुमनाको शव फेला परेको ४८ घण्टा नबित्दै प्रहरीले हत्याको आरोपमा सविन भनिने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गर्न सफल हुन्छ ।

यस्तो छ ‘क्राइम स्टोरी’

फेसबुकमार्फत बाबुराम र सुमनाको चिनजान हुन्छ । पहिलो भेटमै बाबुरामसँग सुमनाको प्रेम हुन्छ । २ वर्षको सम्बन्धमा प्रेम, अपेक्षा र हठ दुवैमा हुन्छ । बाबुराम सोझो हुन्छन् । तर, सुमना भने ठिक विपरीत । उनी निकै चल्तापुर्जा महिला रहेको प्रहरी स्रोत बताउँछ । गत पुष महिनादेखि सुमना धरानको एक कम्पनीमा काम गर्न थाल्छिन् । सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान हुन्छ । प्रदीपलाई देखेपछि सुमनाको दिल उतै मोडिन्छ । प्रदीपले पनि सुमनाको मनोभाव बुझ्छन् । समयसँगै सुमनाले बाबुरामलाई भन्दा बढी समय र महत्त्व दिन थालेका प्रदीप ‘क्राइम स्टोरी’का मुख्य पात्र हुन् ।

दुईबिचको मित्रता गाढा हुँदै जान्छ । उता बाबुराम कामका सिलसिलामा धनकुटाको मूलघाट जान्छन् । त्यसैबेला बाबुराम र सुमनाबीचको प्रेम सम्बन्ध चिसिन थालेको एसपी रेग्मीले बताए । ‘सुमना र प्रदीपले एउटै फेसबुक आइडी प्रयोग गर्ने गरेको देखिएको छ । दुई वर्षको सम्बन्धमा कलह हुनुको मुख्य कारण यही हो,’ एसपी रेग्मीले भने ।

घटना भएको दिन (चैत ६ गते) बाबुराम सुमनालाई भेट्न धरान आउँछन् । सुमनाले घरमा ‘साथीलाई भेट्न गएको’ भनी निस्किन्छिन् । 

बाबुरामले सुमनालाई स्कुटर चलाउन सिकाउने बहानामा घटनास्थलतर्फ लग्छन् । त्यति बेला रातको करिब ९ बजेको थियो । सुमना विश्वासका साथ बाबुरामले जहाँ भन्यो त्यही जान्छिन् । तर, उनले विश्वास गरेको व्यक्तिबाटै यत्ति जघन्य र बर्बर अपराध हुनसक्छ भन्नेबारे उनलाई कुनै अनुमानसम्म हुँदैन ।

‘घटनास्थल पुगेपछि दुबैबिच विवाद भएको देखिन्छ’, एसपी रेग्मीले भने, ‘बाबुरामले योजनाबद्ध ढङ्गले हत्या गरेका हुन् ।’

घटनास्थलमा बाबुरामले आक्रामक हुँदै सुमनालाई फेसबुक आइडी र प्रदीपको बारेमा सोधे । सुमनाले जवाफ नदिएपछि उनीहरूबिच झगडा बढ्यो । सोही क्रममा सुमनाले बाबुरामलाई थप्पड हानिन् । त्यसपछि बाबुरामले आफूले बोकेको खुकुरी निकालेर सुमनाको घाँटी रेटेर हत्या गरी खोल्सामा फालेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात् बाबुराम सोही राती फरार भए । प्रहरीले उनलाई मुलघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर धरान ल्याएको हो ।

कसरी पक्राउ परे अभियुक्त ?

dharan-case-2घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पुग्छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक चिकित्सकसहितको टोली पनि घटनास्थल पुगेर अनुसन्धान सुरु गर्छन् । त्यसअघि नै सुमनाको हत्यामा संलग्न बाबुराम भुजेल आफू पक्राउ पर्ने डरले फरार हुन्छन् । त्यसपछि प्रहरीलाई अभियुक्त खोज्न सकस हुन्छ ।

शव फेला परेको करिब एक घण्टापछि प्रहरीले मृतकको सनाखत गर्छ । त्यसपछि प्रहरीले सुमनाका नजिकका साथीभाइ र आफन्तलाई पक्राउ गरी सोधपुछ सुरु गर्छ । त्यसपछि प्रहरीले उनीहरूले भनेका व्यक्तिहरूको खोजी सुरु गर्छ । त्यति बेलासम्म प्रहरीले सुराक पाइसकेको हुन्छ । सोही रात अनुसन्धानमा खटिएको प्रहरी टोली अभियुक्तको खोजीमा निस्किन्छन् ।

सुनसरी प्रहरीले पछिल्लो समय सुमनासँग नजिकिएका प्रदीपलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गर्छ । प्रदीपले सुमनासँगको आफ्नो सम्बन्धबारे कुरा गर्दै फेसबुक आइडी सेयर गरेको सुनाउँछन् । उता प्रहरीले अभियुक्त भुजेललाई धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं ९ स्थित मूलघाटबाट पक्राउ गर्छन् ।

‘घटना भएको दिन म धरानमा थिइनँ’, प्रारम्भमा भुजेलले प्रहरीसँग इन्कारी बयान दिन्छन्। तर, प्रहरी केरकार बढी नै भएपछि उनले घटना आफ्नो योजनामा भएको सुनाउँछन् ।

वडा प्रहरी कार्यालय धरानका प्रमुख खड्का भन्छन्, ‘विभिन्न कोषबाट अनुसन्धान गरेर घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न हामी सफल भयौँ ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Dharan-case-3