धरान : गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतको शब्द तथा सङ्गीत पनि गायक गुरुङले नै गरेका हुन् ।

माया धरानेमा गुरुङलाई गायिका मेलिना मैनालीले साथ दिएकी छन् । काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड भएको गीतको सम्पादन राजु कार्कीले गरेका हुन् ।

गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य भूमिका रहेको छ । भिडियोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पनि विशेष भूमिका रहेको छ । भिडियोमा धरानमा श्रम गर्न जाँदा बसेको प्रेम प्रस्तुत गरिएको छ । भिडियोले धरानमा लगाएको माया चोखो हुन्छ  भन्ने देखाएको छ ।

माया धरानेले दर्शकको माया जित्नेमा आफू ढुक्क रहेको गायक गुरुङले बताएका छन् ।

'माया धराने'को म्युजिक भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन् । नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन् । सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।