धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारी र जिल्ला प्रहरी भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुलाई २०८० चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रहरी नायव उपरीक्षक भण्डारीले सुनसरीको हरिनगर गाउँपालिका-२ का आशिफ अन्सारीको पैसा भएको झोला लिएर भागेको घटना अनुसन्धान गरी मोहम्मद इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेका थिए ।

हरिनगर वडा ३ मा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रभावकारी प्रहरी परिचालन गरी जनधनको क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भण्डारीले तेस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालको सुरक्षामा प्रभावकारी प्रहरी परिचालन गरेकोमा उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेका थिए ।

आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट खसेर हस्तबहादुर मगर मृत्यु भएको घटनाको अनुसन्धान गरी त्यसमा संलग्न पदमबहादुर मगरलाई भरुवा बन्दुक २ थान सहित पक्राउ गरेका थिए ।

साथै मोटरसाइकल चोरीको घट्नामा भोजपुर-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई पक्राउ गर्न सफल भएकोमा त्यसको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।