धरान : नेपालमा पहिलो पटक ३२ वर्ष अघि लिम्बु मातृभाषामा बनेको चलचित्र ‘तरेबा’का नायक नरप्रसाद लिम्बु सम्मानित भएका छन् ।

फागो चोङबाङ संरक्षण मञ्चद्वारा शनिवार तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनी सम्मानित भएका हुन । उनलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले सम्मान पत्र प्रदान गरे ।

नवीन सुब्बाद्वारा निर्देशित ‘तरेबा’ चलचित्र २०४९ सालमा बनेको हो । चलचित्रकी नायिका अभिनेत्री शोभा सुब्बा थिइन् । नायक र नायिका दुवै धरानका हुन ।

उक्त चलचित्र नेपाल नेपाल टेलिभिजनमा नेपाली भाषाको सबटाइटल सहित त्यसै बेला प्रदर्शन गरिएको थियो । पछिल्ला समय पनि बेला बेलामा एनटिभीले ‘तरेबा’को पुनः प्रसारण गर्दै आएको छ ।

‘तरेबा’ नेपालमा बनेको मातृभाषाको चलचित्रको इतिहासमा दोस्रो हो । यसअघि २०४७ मा नेवारी भाषामा पहिलो चलचित्र ‘शिलु’ बनेको थियो ।

‘तरेबा’ पछि नायक नरप्रसाद अभिनयमा देखिएनन् । सम्मानित भएको अवसरमा उनले भने ‘संयोगवश आकस्मिक रूपमा मलाई तरेबामा अभिनय गर्न निर्देशक नवीन सुब्बाले आग्रह गरेपछि मैले टार्न सकिन ।’

टेलिभिजनमा चलचित्र प्रदर्शन भएपछि अभिनयलाई सबैले मन पराएको प्रतिक्रिया आएको उल्लेख गर्दै उनले मैले अभिनय भन्दा पनि निर्देशकले जे बोल्नु भन्यो लिम्बु भाषामा त्यो ‘डाइलग’ बोलेको दर्शकहरूले मन पराएको बताए ।

उनले भने ‘तरेबाको अनुभवले मलाई अभिनय भन्ने कुरा स्वाभाविक भए दर्शकले मन पराउने रहेछन्, ‘ओभर एक्टिङ’ दर्शक नपचाउने रहेछ भन्ने लाग्यो ।’

उपमेयर बेघाले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पछिल्लो समय समुदायमा आफ्ना थरेको थातथलो, वंशावलीको खोजी गर्ने चासो बढेको बताए ।

यसबाट भाषा, संस्कृति र संस्कारको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले भने ‘सामाजिक सभ्यताको विकाश र सद्भाव बढाउने कुरामा पनि संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

मञ्चका केन्द्रीय अध्यक्ष नरेन्द्र फागो चोङबाङको सभापतित्वमा भएको उद्घाटन समारोहमा चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवा, जिल्ला उदय कुरुम्भाङ, वरिष्ठ पत्रकार हर्ष लगायतले शुभकामना प्रकट गरे ।

धरान-१० सैनिक भवनमा चलिरहेको महाधिवेशनले मञ्चको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन पनि गर्ने बताइएको छ ।

tareawa-cinema