विराटनगर : प्रदेशको भाषा, साहित्य, कला र संस्कृति बिच अन्तर प्रदेश संवाद र अन्तरक्रिया गराउन नेपाली लेखक सङ्घले प्रदेशसँग अन्तर प्रदेश संवाद कार्यक्रम सुरु गरेको छ ।

सङ्घको कोशी प्रदेशद्वारा प्रदेश परिक्रमाको पहिलो शृङ्खलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टाहरूको संवाद शनिवार विराटनगरमा सम्पन्न भयो । कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा र कोशी प्रदेशका स्रष्टाहरूले सिर्जना वाचन गरे ।

सङ्घका केन्द्रीय अध्यक्ष प्रसिद्ध कवि तीर्थ श्रेष्ठले गण्डकीका स्रष्टाहरूको नेतृत्व गरेर विराटनगर आएका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले गण्डकी प्रदेशको साहित्यिक इतिहास, स्रष्टाहरूको परिचय प्रस्तुत गरे ।

प्राज्ञ विवश पोखरेलले कोशी प्रदेशको साहित्यिक इतिहासका बारेमा कार्यपत्र प्रस्तुत गरे । गण्डकी प्रदेशका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

कवि तीर्थ श्रेष्ठ, सङ्घका गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारी, डा. गणेश शर्मा, सञ्जीव पौडेल, अमृत क्षेत्री, प्राञ्जल, तारानाथ पराजुली, रोशन तिम्सिना, रीता अधिकारी ऋतु, ईशा शाहलाई प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार गंगा सुवेदीले सम्मान पत्र प्रदान गरे ।

लेखक सङ्घ कोशी प्रदेशले ७ वटै प्रदेशका स्रष्टाहरूलाई बोलाएर यसरी नै क्रमैसँग कार्यक्रम आयोजना गर्ने महासचिव मीनकुमार नवोदितले बताए ।

गण्डकी प्रदेशका स्रष्टा सहित कोशी प्रदेशका केशव आचार्य, केजी सुब्बा, मनु विश्वकर्मा, दीपा दाहाल, प्रेम ओझा, उमेश लुइँटेल, माधव पोखरेल गोज्याङ्ग्रे, धीरज राई, शकुन्तला मञ्जरी, शारदा भट्टराई, पुष्पा बोगटी, राजेन्द्र गुरागाईँ, मनोज न्यौपाने, राधिका गुरागाईँ, लक्ष्मी रायमाझी, लक्ष्मी पोखरेल, निर्मला कोइराला, गीता भण्डारी निरौला, हरि कट्टेल, प्रमोदकुमार ढकाल, रोहिणी रसिक, प्रयाग न्यौपाने, चटंक राजवंशी, लक्ष्मी स्मृति लगायत चार दर्जन बढी स्रष्टाले रचना वाचन गरे ।

प्रमुख अतिथि पराजुलीले भाषा, साहित्य, कला र संस्कृतिको विकास विना देश समृद्ध हुन नसक्ने बताए । उनले आफूले भाषा, साहित्य, कला र संस्कृतिलाई सधैँ सम्मान गर्ने गरेको उल्लेख गरे ।

सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, कोशीका अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, झापाका अध्यक्ष कुमार भट्टराई, प्राध्यापक कविराज न्यौपाने, कलाका माया पौडेल आशावादी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Nepali lekhak sangh news